विवादित उपसचिवलाई आयोजना प्रमुख बनाउन चलखेल

सहरी बिकास मन्त्रालय मातहतमा रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिमा आयोजना प्रमुख हुनको लागि  चलखेल सुरु भएको छ । सामान्यत उक्त कार्यलयमा नेपाल सरकारको सहसचिव स्तरको कर्मचारी आयोजना प्रमुख हुने प्रचलन र कानुनी ब्यवस्था रहेको छ । सहसचिवको दरबन्दी रहेको समितिमा उपसचिव (डीई) सुवास बस्नेतलाई आयोजना प्रमुख बनाएर पठाउनका लागि सहरी विकास मन्त्री सीता गुरुङसमक्ष टिप्पणी उठाएर पठाइएको छ ।

सहरी विकास मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका प्रमुख सहसचिव प्रदीप परियारले मन्त्रीको सचिवालयलाई प्रभावमा पारेर प्रभावमा पारी उपसचिव बस्नेतलाई अधिकार सम्पन्न बागमतीको आयोजना प्रमुख बनाउन लागेका हुन् । असार सुरुमै उनलाई बागमतीमा आयोजना प्रमुख बनाउन परियार र गुरुङले मन्त्रीकोमा प्रस्ताव लगे पनि उनले सदर गरेकी छैनन् । मन्त्रीकै टेबुलमा उक्त प्रस्ताव छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाका निजी सचिव भानु देउवाको समेत नाम लिएर मन्त्रालयका सहसचिव परियार मन्त्रीमाथि दबाब बढाएर असारमै बस्नेतलाई पठाउने र दरबन्दीका आयोजना प्रमुख रविन्द्र बोहरालाई हटाउने चलखेल गरिरहेका छन् ।

सुवास बस्नेत निजामती प्रशासनमा अनुशासनहीन कर्मचारीका रुपमा चिनिन्छन् । उनले धादिङ डिभिजनदेखि भवन विभाग र बागमतीमा कार्यरत रहे पनि सरुवा हुँदा रमाना समेत नलिएको आरोप छ । उनले बरबुझारथ समेत नगरी बागमतीबाट गाडी नै लिएर गायब भएपछि सहसचिव परियारले नै गएको फागुनमा उनको गाडी ट्राफिकलाई पत्र लेखेर जफत गरी तानेका थिए । तर अनुशासन कायम गर्नुपर्ने जिम्मेवारीसहित मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख परियारले तिनै अनुशासनहीन बस्नेतलाई बागमतीमा पठाउन लागेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार