आठ महिना अघि पोर्चुगल पुगेका गणेशमान सुतेकै अवस्थामा मृत भेटिए

वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवकको मृत्यु भएको छ । बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा मृत्यु भएको हो ।

साराङकोटीको पोर्तीमाउस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा मृत्यु भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए । बिहीबार राति कामबाट आएर सुतेका उनी शुक्रबार बिहान ओछ्यानमै मृतावस्थामा भेटिएको अध्यक्ष अधिकारीले बताए ।

साराङकोटी पोर्तीमाउस्थित एक होटलमा काम गर्थे । आठ वर्षदेखि घर नगएका उनी रोजगारीकै सिलसिलामा दुबई–माल्टा हुँदै आठ महिनाअघि पोर्चुगल आएका थिए । उनको शव पोर्तीमाउस्थित अस्पतालको शवगृहमा राखिएको छ ।

परिवारको आग्रहमा उनको शव नेपाल पठाउनका लागि आवश्यक तयारी भइरहेको अध्यक्ष अधिकारीले बताए । उनले शव पठाउन आर्थिक सङ्कलन सुरु गरिएको बताउँदै सो कार्यमा सहयोग गर्न पोर्चुगलमा रहेका नेपाली समुदायसँग विशेष आग्रहसमेत गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार