सरकारको नीति तथा कार्यक्रम : अर्थतन्त्र चलायमान बनाउने, ठूला पूर्वाधार आयोजनालाई प्राथमिकता

सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम आज शुक्रबार सार्वजनिक गर्ने भएको छ । आज बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै छ।

आज अपराह्न ४ बजे संघीय संसदको बैठक बोलाइएको छ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गर्ने कार्यक्रम छ । नीति तथा कार्यक्रम आगामी आर्थिक वर्षका लागि सरकारको वार्षिक कार्यदिशा हो ।

संसदमा प्रस्तुत नीति तथा कार्यक्रमलाई टेकेर सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउने छ । विश्वव्यापी मन्दीका कारण अहिले मुलुकको अर्थतन्त्र शिथिल अवस्थामा छ । आर्थिक गतिविधि शिथिल हुँदा आर्थिक वृद्धि पनि खुम्चिएको छ ।

राजस्व संकलन घटेका कारण सरकारलाई स्रोत व्यवस्थापनमा दबाब सिर्जना भएको छ । सीमित स्रोतका कारण सरकारले चालू आर्थिक वर्षको जस्तो महत्वकांक्षी बजेट ल्याउने सम्भावना छैन ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले कनिका छरेको जस्तो बजेट नल्याउने प्रतिफल दिन आयोजना तथा कार्यक्रममात्र बजेटमा समावेश गर्ने जानकारी गराइसकेका छन् ।

स्रोत व्यवस्थापनको अवस्था कमजोर भएकाले आगामी आर्थिक वर्षका लागि सरकारले पुराना आयोजनालाई निरन्तरता दिने र नयाँ आयोजना नल्याउने सम्भावना छ ।

यसअघिकै ठूला र रणनीतिक महत्वका पूर्वाधार आयोजनालाई प्राथमिकता दिइने नीति तथा कार्यक्रममा संघीयता सबलीकरण, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवा प्रवाहमा सुधारका विषय नीति तथा कार्यक्रममा समेटिनेछन् ।

यता, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० दलको संयुक्त बैठक बोलाएर नीति कार्यक्रममा समेट्नुपर्ने विषयबारे सुझाव लिइसकेका छन् ।

प्रधानमन्त्री प्रचण्डले आर्थिक संरचनामा परिवर्तन गर्ने खालको बजेट आउने बताएका छन् । उनले उत्पादन बढाएर रोजगारी सिर्जनामा बजेट केन्द्रित हुने बताइसकेका छन् ।

सङ्घीय संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने तथा त्यसमाथि छलफल गरी पारित गर्ने सङ्घीय संसदको मुख्य कार्य जिम्मेवारीभित्र पर्छ ।

उक्त बैठक अवलोकनका लागि राजनीतिक दलका नेता, संवैधानिक निकायका प्रमुख एवं प्रतिनिधि, सरकारका उच्च पदस्थ अधिकृत, नेपालस्थित कुूटनीतिक नियोगका प्रमुख तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट महानुभाव सहभागी हुनेछन् ।

उक्त बैैठकपछि आजै प्रतिनिधिसभा र राष्ट्रियसभाका बेग्लाबेग्लै बैठक बस्नेछन् । प्रधानमन्त्री प्रचण्डले संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गर्ने सम्बोधनको प्रति ती बैठकमा टेबुल गर्ने छन् ।

सरकारले आज पेस गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा आइतबारदेखि लगातार केही दिन छलफल हुनेछ । छलफल समाप्त भएपछि जेठ १५ गते वार्षिक बजेट प्रस्तुत हुने संवैधानिक व्यवस्था छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार