गठबन्धनको ध्यान सरकार निमार्णमा, प्रधानमन्त्रीमा देउवा र प्रचण्डको दाबी

'कांग्रेस सभामुख मात्रै छाड्ने पक्षमा, प्रधानमन्त्रीमा माओवादीलाई एसको साथ'

काठमाडौँ – संसदीय दलको नेता चयनसँगै दलहरु नयाँ सरकार गठनको कसरतमा जुटेका छन् । धेरैजसो दलमा संसदीय दलका नेता सर्वसम्मत भएका छन् भने नेपाली कांग्रेसमा चुनावमार्फत् चयन गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसको संसदीय दलको नेता बनेका छन् । उनले महामन्त्री गगन थापालाई पराजित गरेका हुन् ।

सत्ता गठबन्धनमा आबद्ध दोस्रो ठूलो दल माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज दलका नेतामा चुन्दै छ । माओवादी केन्द्रले आज दिउँसो ४ बजे संसदीय बैठक बोलाएको छ । दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने निश्चित छ ।

दलका नेताको टुङ्गो लागि सकेकाले प्रधानमन्त्री र राष्ट्रपति पदका लागि दलहरुको दौडधुप बढेको छ । तर सत्ता गठबन्धन भित्रै शक्ति बाँडफाँटमा रस्साकस्सी देखिएको छ । सबैभन्दा ठूलो दल बनेको कांग्रेसले यी दुई पद आफैँसँग राख्ने तयारी गरेको छ । प्रधानमन्त्री र राष्ट्रपति पाए सभामुख छाड्न कांग्रेस तयार रहेको देउवा निकट स्रोत बताउँछ । तर, प्रधानमन्त्री र राष्ट्रपतिमा माओवादीको पनि दाबी छ । भने एकीकृत समाजवादीले राष्ट्रपति र सभामुखमा दाबी गरेको  छ । भने प्रधानमन्त्रीमा समाजवादीले नेकपा माओवादी अध्यक्ष प्रचण्डलाई साथ दिने नेताहरुले बताएका छन् । यद्यपी औपचारिक निर्णय हुन बाँकी छ । प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० जना सांसद रहेका छन् ।

माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गरेलगत्तै भावी सरकार निर्माणबारे थप छलफल अगाडि बढाउने जनाएको छ । पर्ख र हेरको नीति अपनाएको एमालेले भने सत्ता गठबन्धन नभत्किएसम्म कसैसँग सहकार्य नगर्ने अडान लिएको छ । प्रधानमन्त्रीमा माओवादी र कांग्रेसको दाबी छ । आलोपालो सरकार चलाउने लगभग निश्चित भएपनि कस्ले पहिले सरकारको नेतृत्व गर्ने भन्ने निश्चित भइसकेको छैन ।

प्रधानमन्त्रीको विषयमा कुरा मिल्न नसके गठबन्धन फुट्न सक्ने खतरा रहेको विज्ञहरु बताउँछन् । माओवादी केन्द्र र एमालेबीच पनि सरकार निमार्णको विषयमा छलफल भइरहेको केही नेताहरुको दाबी छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आउँदो आइतवार १० गते बेलुका ५ बजेसम्म प्रधानमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरिसकेकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार