जीवन बीमामा पहिलो मर्जर, ‘सूर्यज्योति’को एकीकृत कारोबार आजदेखि

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि एकीकृत कारोबार गर्दैछन् । एक आपसमा मर्जर सम्झौता गरेका यी दुवै कम्पनीले आज अर्थात पुस ७ गतेदेखि संयुक्त रुपमा कारोबार थालनी गर्न लागेका हुन् । सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरू हुने भएको हो ।

नेपाल बीमा प्राधिकरणले गत मंसिर २ गते र नेपाल धितोपत्र बोर्डले मंसिर २५ गते मर्जर सम्बन्धी अन्तिम स्वीकृति दिएका थिए । यी दुई कम्पनी १ : ०.८२ कित्ता सेयर आदनप्रदान रेसियोमा मर्जरमा गएका हुन्। तसर्थ, सूर्या लाइफ इन्स्योरेन्सको १ कित्ता सेयर बराबर ज्योति लाइफको ०.८२ कित्ता सेयर कायम हुनेछ।

योसँगै सूर्यज्योति लाइफ इन्स्योरेन्स नेपालको पहिलो एकीकृत कारोबार गर्ने जीवन बीमा कम्पनी हुनेछ । नयाँ कम्पनी बनेसंगै अध्यक्षमा सूर्या लाइफका केशव प्रसाद भट्टराई, प्रमुख कार्यकारी अधिकृतमा ज्योति लाइफबाट प्रकाश विक्रम खत्री बन्नेछन् । कम्पनीको सूर्या लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुने छन् । नयाँ बन्ने कम्पनीको संचालकमा सूर्या लाइफबाट ३ र ज्योति लाइफबाट ३ जना बन्ने बताइएको छ ।

मर्जरपछि कम्पनीको चुक्ता पुँजी चार अर्ब करोड हुनेछ । कम्पनीले हकप्रद वा बोनस शेयर जारी गरी पाँच अर्ब चुक्ता पुँजि पुर्याउनेछ । हाल सूर्या लाइफको चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ रहेको छ भने ज्योति लाइफको २ अर्ब २० करोड रुपैयाँ रहेको छ । कम्पनीले अब हकप्रद सेयर तथा बोनस सेयर जारी गरि चुक्ता पुँजी ५ अर्ब पुर्याउने छ । यी कम्पनीको जगेडा कोषमा १ अर्ब १५ करोड, जीवनबीमा कोषमा १८ अर्बभन्दा र महाविपत्ति कोषमा २४ करोड रुपैयाँ पुग्नेछ।

तत्कालीन बीमा समिति हालको नेपाल बीमा प्राधिकरणले गत चैत १० गते बीमा कम्पनीहरुको चुक्ता पूँजी बृद्धि गर्ने निर्णय गरेको थियो । समितिले जीवन बीमा कम्पनीको ५ अर्ब र निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब तोकेको छ । सोही अनुसार नै सूर्या लाईफ र ज्योति लाईफले मर्जरमा जाने सहमति गरेका थिए ।

विशाल ग्रुपको मुख्य लगानी रहेको यी दुई कम्पनीले एक आपसमा मर्जरमा जानका लागि गत गते सहमति गरेका थिए । नियमनकारी निकाय बीमा समितिबाट निर्देशित पुँजी वृद्धी गर्नुपर्ने समय सीमाभित्रै चुक्ता पुँजी वृद्धि गरी बीमा समितिको लक्ष्य अनुरुप बीमकहरुको संख्या घटाउने, पुँजीको आधार बलियो बनाउने, स्वस्थ प्रतिस्पर्धात्मक वातावरणमा व्यवसाय गर्ने र नियामक निकायको सुपरीवेक्षण क्षमता बढाउन यो मर्जरले सघाउ पुग्ने विश्वास कम्पनीहरुले लिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार