‘सरकारी विद्यालय आफन्तलाई जागिर खुवाउने थलो होइन’

पर्वत : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्ना र पार्टीको झण्डा बोकेका मान्छेलाई जागिर खुवाउने प्रवृत्तिले सरकारी विद्यालय समस्यामा रहेको बताएका छन्।

पर्वतको कुश्मा नपा–१ पाङमा रहेको पाङ धैरेनी माध्यमिक विद्यालयमा बनेको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले सामुदायिक विद्यालयहरू पढाउन सक्नेलाई भन्दा आफन्तलाई रोजगारी दिने थलो बनेको बताएका हुन्।

विद्यालयले दिने नतिजाभन्दा पार्टीका झण्डा बोकेका मान्छेहरूलाई जागिर खुवाउने समस्याले सामुदायिक विद्यालयको नतिजा राम्रो हुन नसकेको अध्यक्ष तिमिल्सिनाको भनाइ छ।

‘विद्यालयमा पढाउन जान्नेलाई जागिर खुवाउने हो। यो रोजगार दिने थलो होइन। पढाउन जान्ने ल्याउने हो। कुन दलको मान्छे भनेर ल्याउने होइन। पार्टी चाहिएको छ, झण्डा बोक्ने मान्छे चाहिएको छ। पढाउन मतलब छैन। अनि कहाँबाट रिजल्ट राम्रो हुन्छ ?’, उनले भने, ‘विद्यालयका लागि कति समय दिनुभएको छरु शिक्षकहरूले पनि त्यो कुरा आत्मसमीक्षा गर्नुपर्छ। मैले पढाएको विद्यार्थी कमजोर भयो कि भनेर सोच्ने काम शिक्षकको हुन्छ। वातावरण बनाउने काम अभिभावकको हुन्छ। विद्यालयलाई राजनीतिको अखडा बनाउने, पढाउन जानोस् नजानोस् आफ्नो मान्छेलाई जागिर खुवाउँछु भन्ने छ।’

विद्यालय व्यवस्थापन समितिमा आउन हानथाप हुनुको कारण पनि आफन्तलाई जागिर खुवाउन र सरुवा गर्नको लागि भएको अध्यक्ष तिमिल्सिनाको तर्क छ। राम्रोभन्दा हाम्रो मान्छे खोज्ने चलनकै कारण बालबालिकाले गुणस्तरीय शिक्षा पाउन नसकेको उनले बताए। आफ्नो मान्छे ल्याउनैपर्ने भए पहिले राम्रो मान्छे खोजेर ल्याएपछि उसलाई नै आफ्नो मान्छे बनाउन सकिने तिमिल्सिनाको सुझाव छ।

‘समितिमा आउन हानथाप हुन्छ। केका लागिरु आफ्नो मान्छेलाई जागिर खुवाउन र सरुवा गरेर ल्याउनका लागि। यहाँ त राम्रो भए पनि अर्को हो भनेपछि हुँदैन’, उनले भने, ‘अनि बालबच्चाले कहाँबाट राम्रो पढ्छरु यस कारण भोलिका दिनमा तपाईँ हामी सबैले सरकारी विद्यालयमा त्यो प्रतिबद्धता गरौँ कि राज्यको यति धेरै लगानी भएको ठाउँमा किन विद्यार्थी पढ्न आएनन्रु प्रतिस्पर्धी किन बनेनन्रु सबै मिलेर यिनै कमजोरी हटाऔँ। आवश्यक ठाउँमा योग्य शिक्षक नियुक्त गरौँ। राजनीतिक हिसाबले आग्रह नराखौँ। राजनीतिमा होइन पढाइ र गुणस्तरमा प्रतिस्पर्धा गरौँ।’

सामुदायिक विद्यालय र निजी विद्यालयमा पढ्ने आफ्नै सन्तानलाई घरबाटै शुरु हुने विभेदले पनि समस्या भइरहेको उनको भनाइ छ। अभिभावकहरूले सबै सन्तानलाई बरोबर देख्नुपर्ने भए पनि कतिपयले सामुदायिक र निजीमा पढाउने गरेको र त्यसमा पनि निजीमा अध्ययन गर्नेलाई बढी ध्यान दिने गरेको बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार