नेपाल स्कटल्यान्डसँग ८ विकेटले पराजित

काठमाण्डौ – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलाको चौथो तथा अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग आठ विकेटले पराजित भएको छ ।

नेपालले दिएको एक सय २० रनको सामान्य लक्ष्य स्कटल्यान्डले १६ ओभर ५ बलमा मात्र दुई विकेट गुमाएर भेटायो । स्कटल्यान्डका लागि क्रिस्टोफर म्याकब्राइडले नटआउट ४६ र जर्ज मुन्सेले ४५ रन बनाए । बलिङतर्फ नेपालका गुलसन झा र दीपेन्द्रसिंह ऐरीले एकरएक विकेट लिए ।

यसअघि नामिबियाको युनाइटेड क्रिकेट ग्राउन्ड विन्डहोकमा टस जितेर ब्याटिङ गरेको नेपाल ३५ ओभर ३ बलमा एक सय १९ रन बनाउँदा अलआउट भयो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए । बलिङतर्फ ब्रान्डन म्याकमुलेन, सफयान शरिफ र मार्क वाटले दुईरदुई विकेट लिए ।

योसँगै नेपाल त्रिदेशीय एकदिवसीय शृङ्खलामा जितविहीन भएको छ । नेपाल र नामिबियाबीच भएको पहिलो खेल वर्षाका कारण नतिजाविहीन भएको थियो । दोस्रो खेलमा नेपाल स्कटल्यान्डसँग तीन विकेटले पराजित भएको थियो । यस्तै तेस्रो खेलमा नेपाल नामिबियासँग ८६ रनले पराजित भएको थियो ।

सात टोली सहभागी विश्व कप लिग–२ मा नेपाल २४ खेलमा १८ अङ्कसहित छैटौँ स्थानमा रहेको छ । स्कटल्यान्ड ३२ खेलमा ४६ अङ्कका साथ शीर्ष स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार