बागमती र गण्डकी प्रदेशसभामा पुरुष सांसदकै बाहुल्यता

काठमाडौं । बागमती प्रदेशसभामा प्रत्यक्षतर्फ पाँचजना महिला सांसद निर्वाचित भएका छन् । कूल ६६ सिट रहेको यस प्रदेशमा ६१ सिटमा भने पुरुष सांसदकै वर्चश्व छ ।

बागमती प्रदेशमा १५ सिटसहित पहिलो दल बनेको नेपाली कांग्रेसबाट २ जना महिला निर्वाचित भएका छन् । काठमाडौंबाट हरिप्रभा खड्गी र सिन्धुपाल्चोकबाट मसिना खड्का निर्वाचित भएका हुन् ।

१४ सिटसहित दोस्रो बनेको नेकपा माओवादी केन्द्रबाट पनि दुईजना महिला सांसद निर्वाचित भएका छन् । माओवादीबाट विजयी हुनेहरूमा राधिका तामाङ नुवाकोट र कुमारी मुक्तान मकवानपुर रहेका छन् ।

बागमतीमा १३ सिट जितेको नेकपा एमालेबाट महिला सहभागीता शून्य छ । ५ सिट जितेको नेकपा एकीकृत समाजवादीबाट एक जना महिला निर्वाचित भएकी छन् । एकीकृत समाजवादीको तर्फबाट काठमाडौंंबाट प्रदेशसभामा रमा आले मगर निर्वाचित भएकी हुन् । यस प्रदेशमा नेपाल मजदुर किसान पार्टी एक र हाम्रो नेपाली पार्टी एक स्थानमा विजयी भएका छन् ।

यता गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ पुरुष सांसदको बाहुल्यता देखिएको छ । यस प्रदेश सभाका ३६ सिटमा २ वटामा मात्र महिला उम्मेदवार विजयी भएका छन् ।

विजयी हुनेहरूमा प्रदेश सभामा १२ सिटसहित दोस्रो बनेको नेकपा एमालेबाट सीताकुमारी सुन्दास र पदमा जिसी छन् । उनीहरू क्रमशः स्याङ्जा प्रदेश निर्वाचन क्षेत्र नम्बर १ र नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका हुन् । यस प्रदेशमा सबैभन्दा १८ सिटसहित कांग्रेस पहिलो दल बनेको छ ।

उक्त दलबाट एक जना पनि महिला उम्मेदवार विजयी भएनन् । यस्तै यहाँ नेकपा माओवादी केन्द्रले ४, नेपाल समाजवादी पार्टीले एक र एक जना स्वतन्त्र सांसद विजयी भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार