चाडपर्वले नेपालीको साझा पहिचान कायम गर्न भूमिका निभाएको छ : राष्ट्रपति भण्डारी

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले चाडपर्वले नेपालीको साझा पहिचान कायम गर्न भूमिका निभाएको बताएकी छन्। उधौली पर्व, २०७९ को अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपालमा उधौली जस्ता चाडपर्वले सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्‌भाव अभिवृद्धि गरेको बताएकी छन्।

‘उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ। यस पर्वले प्रकृतिको सम्मान गर्दै सबै जातजाति बीच आपसी सद्‌भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको देखिन्छ।’ भण्डारीको शुभकामना सन्देशमा भनिएको छ, ‘विभिन्न जातजाति र समुदायहरूको साझा फूलबारीको रूपमा रहेको नेपालमा उधौली जस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्‌भाव अभिवृद्धि गर्नुका साथै नेपालीको साझा पहिचान कायम गर्नमा अहम् भूमिका निभाएको छ। यस पर्वले मानव जीवन र प्रकृति बीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्न समेत सहयोग गरेको छ।’

राष्ट्रपति भण्डारीले विविधतायुक्त नेपाली समाजमा आपसी सद्‌भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्‍वास व्यक्त गरेकी छन्।

‘प्रकृतिसँग तादात्म्यता कायम गरी जीवन निर्वाह गर्ने अभ्यस्त किराँत समुदायले जाडो मौसम सुरु भएछि हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरू भई १५ दिनसम्म विभिन्न क्रियाकलापका साथ उधौली पर्व मनाउने परम्परा रहेको छ।’सन्देशमा भनिएको छ, ‘यस पर्वको अवसरमा किराँत समुदायका मूलतस् राई‚लिम्बु‚याख्खा र सुनुवारहरूले नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गर्नुका साथै राम्रो फसलको लागि भूमिप्रति आभार प्रकट गर्दै भित्र्याइएका अन्नबालीमा घुन–पुतली नलागोस् र सह बनोस् भन्ने कामना सहित भूमिको पूजा गर्ने गरिन्छ। यसका साथै‚ उधौली पर्वको अवसरमा परम्परागत भेषभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामुहिक रूपमा साकेला नृत्य गर्ने प्रचलन समेत रहेको छ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार