निर्वाचनको समीक्षा गर्दै लोसपा

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टीले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा सुरु गरेको छ । लोसपाले धनुषा क्षेत्र नम्बर ३ मा भएको पराजयबारे पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थितिमा समीक्षा सुरु गरेको हो ।

विसं २०७४ को निर्वाचनमा धनुषा–३ बाट नेता महतोले चुनाव जितेका थिए । यसपटको चुनावमा महतोले सो क्षेत्र सोही पार्टीका कार्यकारिणी सदस्य अनिलकुमार झालाई छाडेर सर्लाही–२ बाट चुनाव लडेका थिए तर धनुषा–३ मा झा र सर्लाही–२ मा महतो दुवैजना पराजित भए।

नेता झालाई एमालेकी जुली महतोले पराजित गरिन् भने महतोलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले पराजित गरे। धनुषा–३ महतोको पुरानो चुनावी क्षेत्र भएको कारणले उनलाई पनि बैठकमा सहभागी गराई समीक्षा सुरु गरिएको लोसपाका नेता मनोज चौधरीले जानकारी दिए। सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका नेता झा कसरी पराजित भए भन्नेबारेमा समीक्षा भइरहेको उनले बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार