मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुको एउटै स्वर : मौद्रिक नीति र ब्याजदरबारे हस्तक्षेप गरौं

मन्त्रीहरुले मौद्रिक नीति र बैंकहरूले तोकेको ब्याजदरमा हस्तक्षेप गर्नुपर्ने प्रस्ताव गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले अहिलेको मौद्रिक नीति र ब्याजदरले अर्थतन्त्रमा गम्भीर समस्या आउने भन्दै सरकारले हस्तक्षेप गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।

उद्योगी व्यवसायीलाई उद्योग व्यवसाय सञ्चालन गर्न तिर्नुपर्ने किस्ता र बैंकको ब्याजदर तिर्न समस्या भएको दाबी गर्दै तीन मन्त्रीले ब्याजदरमा हस्तक्षेपको आवश्यकता औंल्याए । सरकारले यस विषयमा निकास ननिकालेमा उद्योग व्यवसाय र अर्थतन्त्रमा गम्भीर प्रभाव पर्ने धारणा आफूले मन्त्रिपरिषद् बैठकमा राखेको गृहमन्त्री खाणले स्वीकार गरे । मौद्रिक नीति र बैंकको ब्याजदरका कारण उद्योग, व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था आएको भन्दै उद्योगी व्यवसायीले सरकारले हस्तक्षेप गर्नुपर्ने विषय उठाएकाले सोअनुसार सरकारले कदम चाल्नुपर्ने ती मन्त्रीहरुले बताए ।

उद्योगी व्यवसायीहरुले मौद्रिक नीति र बैंकको ब्याजदरका कारण उद्योग एवं व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको गुनासो गर्दै आएका छन् । आर्थिक गतिविधि चलायमान हुन नसक्दा तथा बढ्दो बैंक व्याजदरका कारण उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।

गलत मौद्रिक नीतिका कारण आफूहरूले व्यवसायबाट हात धुनुपर्ने अवस्थामा पुगेको भन्दै उद्योगी व्यवसायी सम्बद्ध संघ संस्थाहरूले मंगलबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यसबारे ध्यानाकर्षण गराएका थिए । व्यवसायमा मन्दी छाइरहेको समयमा बैंकले ब्याजदर चर्को बढाएको भन्दै उद्योगी–व्यवसायीहरू संघर्षमा उत्रिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार