भारतको एक्जिम बैंकको ‘व्यापार सहायता कार्यक्रम’ मा सदस्यता पाउने नबिल बन्यो पहिलो बैंक

नबिल बैंकले एक्सपोर्ट–इम्पोर्ट बैंक अफ इन्डिया (एक्जिम बैंक)को नयाँ व्यापार सहजीकरण पहल ‘व्यापार सहायता कार्यक्रम (ट्याप)’अन्तर्गत सदस्य बैंकको मान्यता प्राप्त गरेको छ। एक्जिम बैंकबाट यस्तो सुविधा पाउने नबिल नेपालको पहिलो र एक मात्र बैंक हो।

एक्जिम बैंकले सूक्ष्म जोखिम समीक्षापछि नबिल बैंकलाई व्यापार सहायताअन्तर्गत सदस्यता प्रदान गरेको हो। यो सम्झौताले नेपाल र भारतबीच बढ्दो व्यापारलाई सहज बनाउने, दुई देशबीचको बढ्दो आर्थिक संलग्नतालाई सुदृढ गर्ने, आयात–निर्यातलाई सहजीकरण गरी अवसर खोल्ने नबिल बैंकको विश्वास छ। यो सुविधाअन्तर्गत एक्जिम बैंकले नबिल बैंकको भुक्तानी दायित्वको समर्थनमा भारतमा लेटर अफ क्रेडिट स्वीकार गर्न पेमेन्ट ग्यारेन्टी जारी गर्नेछ।

यसले गर्दा पछिल्लो समयमा बढ्दै गएको वैदेशिक साख जोखिम र सीमित पहुँचलाई सहजीकरण गर्न टेवा पुग्ने अपेक्षा लिइएको छ। साथै यसले वित्तीय संस्थाहरूको क्षमता अभिवृद्धि गरी सीमापार व्यापारसम्बन्धी कारोबारहरूलाई सहज गर्नेछ।

यस व्यापार सहायता कार्यक्रमअन्तर्गत एक्जिम बैंकसँगको नबिल बैंकको साझेदारीले नेपाली बैंकिङ क्षेत्रको अन्तर्राष्ट्रियकरणतर्फको कोसेढुंगा साबित हुने नबिल बैंकले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार