लिबियाको तटबाट ६३३ आप्रवासीको उद्धार

काठमाडौँ- आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनले लिबियाको तटबाट ६३३ आप्रवासीहरूलाई उद्धार गरी फिर्ता पठाइएको जनाएको छ । यही २०२२ नोभेम्बर २७ देखि डिसेम्बर ३ को अवधिमा ६३३ आप्रवासीहरूलाई रोकेर लिबिया फर्काइएको आईओएमले एक विज्ञप्तिमार्फत जनाएको हो ।

सन् २०२२ को शुरुबाट हालसम्म एक हजार ८९ महिला र छ सय ७८ बालबालिकासहित कुल २१ हजार चार सय ५७ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको आईओएमले जनाएको छ ।

यसवर्ष अहिलेसम्म कूल पाँच सय १७ गैरकानूनी आप्रवासीको मृत्यु भएको छ भने आठ सय ३० जना मध्य भूमध्यसागरीय मार्गमा लिबियाको तटबाट बेपत्ता भएका आईओएमले जानकारी दिएको छ ।

सन् २०२१ मा कुल ३२ हजार चार सय २५ गैरकानूनी आप्रवासीहरूलाई उद्धार गरी लिबिया फर्काइयो । सन् २०११ मा नेता मुअम्मर गद्दाफीको पतनपछि लिबियाले असुरक्षा र अराजकताको सामना गरिरहेको छ ।

यस उत्तर अफ्रिकी देशलाई भूमध्यसागर पारगरी युरोपेली किनारमा जान चाहने अनियमित आप्रवासीहरूको लागि प्रस्थानको महत्वपूर्ण केन्द्रबिन्दु बन्न पुगेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार