एमालेले संघ र सातै प्रदेशमा सरकार बनाउन सक्छ : पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ — एमाले उपमहासचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले संघ र सातवटै प्रदेशमा एमालेको सरकार बनाउने हैसियत भएको बताएका छन् ।

लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई दिन प्रेस चौतारी नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव गुरुङले नेतृत्वमा सरकार बनाउने काममा लाग्नुपर्ने बताएका हुन्।

सत्तारुढ गठबन्धनलाई तोडेर वामपन्थी शक्तिलाई एकजुट बनाउँदै एमालेले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनका लागि पहलकदमी लिनुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमै सरकार बन्ने प्रचारलाई तोडेर एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि पहलकदमी लिनुपर्ने बताए ।

गुरुङले भने, ‘म फेरि पनि भन्छु–नेकपा एमाले नेतृत्वको सरकार बनाउने काममा हामी लाग्नु पर्छ । अहिले जोडतोडले दुष्प्रचार भइराखेको छ, कुप्रचार भएको छ कि अब शेरबहादुर नै प्रधानमन्त्री भनिराख्या छ । प्रधानमन्त्री को होला, त्यो बेग्लै कुरा हो । तर हामीले सकारात्मक सोच भएका शक्तिहरुबीच सरकार बनाउनु पर्छ । यो दक्षिणपन्थी गठबन्धनलाई तोडिएन भने मुलुकमाथि आईरहेका जोखिमका कुराहरु, राष्ट्रिय स्वाधिनतामाथि धावा बोलिरहेको जुन स्थिति हो, यसको हामीले अन्त्य गर्न सक्दैनौं । त्यसकारणले राष्ट्रिय स्वाधिनताका पक्षधर शक्तिहरु सबैलाई हामीले एकजुट बनाउनु पर्दछ । त्यो दायित्व हामीसँग छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार