मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

काठमाडौँ- जाजरकोटमा मोटरसाइकलको ठक्करबाट एक जना महिलाको ज्यान गएको छ । भेरी नगरपालिका ४ की ६१ वर्षीया विजया शाहीको मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो ।

भेरी नगरपालिका ३ तल्लो थाप्लेमा पैदल हिँडिरहेकी शाहीलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट उनी गम्भीर घाइते भएकी थिइन् ।उनलाई उपचारका लागि नेपालगन्ज लैजाँदैगर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोष निरौलाले बताए ।

बिहीबार बिहान सदरमुकामस्थित तल्लो थाप्लेमा पैदल यात्रा गरिरहेकी शाहीलाई विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । भेरी नगरपालिका ३ का २७ वर्षीय विनोद विकले चलाएको मोटरसाइकलले शाहीलाई ठक्कर दिएको थियो । चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोटमा लगिएको प्रहरी प्रमुख निरौलाले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार