एकीकृत समाजवादीले सभामुखमा दाबी गर्ने

काठमाडौं – शहरी विकास मन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले सत्ता गठबन्धनकै सरकार बन्ने र नेतृत्व शेरबहादुर देउवाले गर्ने दाबी गरेका छन्।

बिहीबार राजधानीमा भएको एक साक्षात्कारमा बोल्दै उनले यस्तो अबको पाँच वर्ष गठबन्धनकै सरकार रहने बताए। उनले आफ्नो पार्टीले सभामुखमा दाबी गर्ने समेत बताए ।

‘सरकार निर्माण गर्ने विषयमा छलफल भइरहेको छ, पाँच दलीय गठबन्धनको नै सरकार बन्छ। सरकारको नेतृत्व र मन्त्रीहरु पनि सल्लाहमै टुंगो लगाउँछौँ। राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख सबै पद प्याकेजमै सहमति हुन्छ।’ उनले भने, ‘निर्वाचनमा हामीले पाँच दलीय गठबन्धन बनाएका थियौं। पाँच वर्षसम्म अब यही गठबन्धनको सरकार बन्छ। यसमा कोही पनि कन्फ्युजन हुन जरुरी छैन।’

मन्त्री चौधरीले अहिले एमालेसहितको वामपन्थीहरुको नेतृत्वमा सरकार बन्ने कुनै सम्भावना नरहेको जिकिर गरे।

उनले आगामी फागुनसम्म नयाँ सरकार गठन गरिसक्ने दाबी गरे। ‘हामी १९ सिटमा लडेका थियौं। १५ जित्ने दाबी थियो तर, १० सिट जित्यौँ। तुलना गर्दा राम्रो रिजल्ट ल्याएका छौँ। अपेक्षा गरेअनुसार खास गरी अहिलेको रिजल्ट हेर्दा कमजोर छ।’ उनले भने,‘ समानुपातिकमा १० लाख आउँछ भनेका थियौं। तर, अब ३ लाख प्लस ल्याउँछौँ। सन्तुष्ट हुने कुरै भएन। कमिकमजोरी भएको छ। हामी निर्वाचनमा देखिएको समस्याको खोजी गर्छौं।’

मन्त्री चौधरीले अहिले मार्केटमा नयाँ अनुहारको रुपमा प्रधानमन्त्रीको खोजी भएको कुरातर्फ संकेत गर्दै त्यस्तो सम्भावना नरहेको स्पष्ट पारे।

उनले भने,‘अबको प्रधानमन्त्री भनेको शेरबहादुर देउवा नै हो। त्यसबाहेक राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार बनाउन सक्दैन। प्रधानमन्त्रीमा गगन थापाले दाबी गर्नु सकारात्मक कुरा हो। सम्भव कति होला, त्यो उहाँको दलभित्रको कुरा हो। सांसद बनेपछि मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री हुन खोज्ने कुरा सामान्य हो।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार