प्रधानमन्त्रीको दौडधुपमा शीर्ष नेता, देउवालाई फकाउँदै रामचन्द्र

'ह्याट्रिक गर्ने दाउमा ओली र प्रचण्ड, गगनको सपना ब्रेक हुँदै'

काठमाडौँ – मंसिर ४ मा सम्पन्न आम निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार निमार्णको चर्चा सुरु भएको छ । निर्वाचनमा प्रत्यक्ष तर्फ नेपाली कांग्रेस अगाडी देखिएको छ । तर उसले एक्लै सरकार बनाउने अवस्था छैन । यता समानुपातिकमा नेकपा एमाले अगाडी देखिएको छ । नेकपा माओवादी केन्द्र भने यो निर्वाचमा पनि तेस्रो हुने लगभग निश्चित जस्तै बनेको छ । यस्तो अवस्थामा अब बन्ने सरकार कस्को नेतृत्वमा बन्ला भन्ने सबैको चासोको विषय बनेको छ ।

संविधानको धारा ७६ मा सरकार गठनको व्यवस्था छ । धारा ७६(१) मा संसदमा बहुमत प्राप्त गर्ने संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । सरकार बनाउनका लागि कुनै पनि दलले प्रत्यक्ष र समानुपातिकसमेत गरेर कम्तीमा १३८ सीट ल्याउनुपर्ने हुन्छ । यसपटकको चुनावमा कुनै पनि दलको बहुमत पुग्ने अवस्था छैन । त्यसो हुँदा धारा ७६(२) बमोजिमको सरकार बनाउनुपर्ने हुन्छ । जसमा भनिएको छ, ‘उपधारा (१) बमोजिम प्रतिनिधि सभामा कुनै दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ ।’

यही व्यवस्थाअनुसार सरकार बनाउनका लागि राजनीतिक दलका शीष नेताहरु कसरतमा जुटेका छन् । वर्तमान सत्ता गठबन्धनले अबको प्रधानमन्त्री को भन्ने विषयमा टुंगो लगाएको छैन । यदपी सबैभन्दा ठूलो दलको हिसाबले कांग्रेसले सरकारमा दाबी गरेको छ । गठबन्धन भित्र माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पनि प्रधानमन्त्रीमा रुचि देखाएको स्रोत बताउँछ । तर काँग्रेस सजिलै प्रधानमन्त्री पद छाड्ने पक्षमा भने छैन । कांग्रेसभित्र प्रधानमन्त्रीको दाबेदारहरुको संख्या पनि धेरै छ । कांग्रेसका नेताहरु शेरबहादुर देउवा, रामचन्द्र पौडेल, गगन थापा, शेखर कोइराला, प्रकाशमान सिंह, शंशाक कोइरालाले प्रधानमन्त्रीमा दाबी गरिरहेका छन् ।

रामचन्द्र पौडेल पनि प्रधानमन्त्रीको लाइनबाट पछि नहट्ने पक्षमा छन् । उनले प्रचण्ड, माधव नेपाललाई भेटेर नै प्रधानमन्त्रीमा सहयोग गर्न आग्रह समेत गरेका छन् । भने माधव नेपालले त उनलाई सघाउने बचन समेत दिएका छन् । यस्तै प्रधानमन्त्री बन्छु भन्दै भोट बटुलेका गगन थापा प्रधानमन्त्रीबाट व्याक हुने पक्षमा छैनन् । तर पार्टीभित्र नै संसदीय दलको नेता हुन उनलाई गाह्रो छ । यता पार्टीको महाधिवेशनमा देउवालाई सघाएका प्रकाशमान सिंह पनि प्रधानमन्त्रीका लागि आफू सबैभन्दा उत्तम भएको बताउँदै आएका छन् । उनले राजनीतिक भेटवार्तालाई पनि बाक्लो बनाएका छन् । यता गठबन्धनभित्र एकीकृत समाजवादीको परिणाम कम्जोर छ । तर कुनै राजनीतिक मौका छोपी प्रधानमन्त्री हुने माधव नेपालको भित्रि चाहानाको पनि चर्चा हुने गरेको छ ।

गठबन्धनको संसदीय अंक गणित
सत्ता गठबन्धनको अहिलेकै जितलाई आधार मानेर हेर्दा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, (लोसपा) ले अहिले जित हात पारेको संख्याका आधारमा गठबन्धनलाई सरकार बनाउन निकै कठिन बहुमत पुग्ने देखिन्छ। प्रत्यक्षतर्फ कांग्रेसको ५४, माओवादीको १७, एकीकृत समाजवादीको १०, लोसपा ४, राष्ट्रिय जनमोर्चा १ गरी गठबन्धनको सिट संख्या ८७ पुग्न जान्छ। सरकार गठनका लागि गठबन्धन दलले समानुपातिकबाट ५१ सिट ल्याउनुपर्ने हुन्छ । २७५ सदस्यीय संसदमा बहुमतका लागि १३८ जना आवश्यक पर्छ। समानुपातिक र प्रत्यक्ष तर्फको गरी पहिलो दल हुने दिशामा अघि बढिरहेको नेपाली कांग्रेसलाई गठबन्धन र गठबन्धन बाहिरका दलसँग मिलेर सरकार बनाउन एमाले र अरू दलको तुलनामा केही सहज हुने छ। अहिलेसम्मको परिणामअनुसार चौथो स्थानमा रहेको रास्वपा कसको कित्तामा खुल्ने छ त्यसले पनि त्यसले पनि अबको सत्ताको खेलमा रोचकता थपेको छ । संसदमा प्रतिनित्व गर्ने अन्य साना दलहरूले पनि सरकार निमार्णमा महत्वपूर्ण स्थान हुने भएको छ ।

एमालेको सम्भावना
समानुपातिक र प्रत्यक्ष गरी सत्ता गठबन्धनमा रहेका ५ दलको बहुमत नपुग्ने स्थितिमा एमालेले पनि अन्य दलहरुसँग गठबन्धनको कसरत अघि बढाएको छ । यसअघि नै एमालेले चुनावमा जाँदा ‘मंसिर ४ ओली सरकार’ नारा दिएको थियो । एमाले कम्युनिष्ट पार्टीहरुलाई एक गराउने कसरतमा लागेको पनि चर्चा हुन थालेको छ । एमाले अध्यक्ष केपी ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई फोन गरि मिलेर अघि बढ्न गरेको प्रस्तावले उक्त कुरालाई पुष्टि गर्छ ।

अहिलेको सत्ता गठबन्धन तोडिए एमालेलाई सरकार बनाउन सहज हुनेछ । यदि गठबन्धन टुटेमा एमाले, माओवादी र एकीकृत समाजवादीको संयुक्त सरकार बनाउँन स्पष्ट बहुमत पुग्नेछ । त्यसका लागि राप्रपासमेत आवश्यक पर्दैन । तर, एमाले अध्यक्ष ओलीले कस्तो रणनीति अपनाउँछन् भन्ने कुराले धेरै नै महत्व राख्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार