समानुपातिकतर्फ सीके राउतको पार्टीले कटायो थ्रेस होल्ड, माधवको एस अझै पछाडी

'एमालेको अग्रता कायमै, तेस्रोका लागि माओवादी र रास्वपाको प्रतिस्पर्धा'

काठमाडौं – मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको गणना अन्तिम चरणमा पुगेको छ।

आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा हालसम्म ९६ लाख ४७ हजार चार सय १० मत गणना भइसकेको छ। निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख ८ हजार ८५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत मत खसेको थियो।

आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा एमालेले २६ लाख ३३६ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले २४ लाख ६४ हजार ३१, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ७५ हजार १५५ मत, नेकपा माओवादी केन्द्रले ११ लाख ७ हजार ७१८ मत प्राप्त गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ५३ हजार ९७४, जनता समाजवादी पार्टीले तीन लाख ६७ हजार ७६० मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन्। जनमत पार्टीले थ्रेस पनि होल्ड कटाएको छ। जनमत पार्टीले तीन लाख १६ हजार ५९२ मत पाएको छ। एकीकृत समाजवादी पार्टीले दुई लाख ६५ हजार ९८४ मत प्राप्त गरेको छ। समाजवादी थ्रेसहोल्ड कटाउन संघर्षरत छ।

निर्वाचनमा खसेको मतमध्ये सदर मतको तीन प्रतिशतलाई थ्रेसहोल्ड मानिएको छ। मतगणना जारी नै रहेकाले सदर मत कति भन्ने स्पष्ट आँकडा त आइसकेको छैन तर खसेको मत अनुमानित एक करोड सात लाख रहेको र यसमा बदर मत कटाएर बाँकी मतको तीन प्रतिशत प्राप्त गर्ने दलले थ्रेसहोल्ड पार गर्ने कानुन छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार