गठबन्धन लोकतन्त्र, विकास र सम्बृद्धिको लागि हाे : प्रचण्ड

'गोरखाको लोकतन्त्र र निर्वाचन परिणाम संसारले देखोस्'

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंसिर ४ मा हुने निर्वाचन विकास र शान्तिलाई अघि बढाउने र त्यसलाई रोक्नेबीचको जनमत संग्रह भएको बताएका छन् ।

गोरखाको जौबारीमा शुक्रबार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले परिवर्तनका पक्षधर र विरोधीबीचको लडाईं भएकाले परिवर्तनका पक्षधरले जित्नुपर्ने बताए । उनले गोरखाबाट राष्ट्र निर्माणको नयाँ थालनी गर्न आफू गोरखा आएको भन्दै राष्ट्रिय एकताका साथै विकास र सम्बृद्धिको भुमिका पनि गोरखाले खेल्नेमा आफू विश्वस्त रहेको बताए ।

‘मंसिर ४ गते जनमत संग्रह हुदैछ । एकथरी मान्छेहरु अर्को गठबन्धन बनाएर राजालाई फेरि फिर्ता ल्याउनुपर्छ भन्नेपनि छन्’, अध्यक्ष प्रचण्डले भने, ‘हामी यो संविधानको रक्षा गरेर अघि बढ्ने पक्षमा छौ । राष्ट्रलाई अघि बढाउन चाहने, शान्तिलाई अघि बढाउन चाहने,विकास र सम्मृद्धितिर देशको नेतृत्व गर्न चाहनेहरुको गठबन्धन छ भने अर्कातिर यसलाई उल्ट्याउन चाहनेको छ । देशलाई फेरि अराजकता, निरंकुशता, सामन्तवाद र अध्यारोतिर लैजानेको बीचमा जनमत संग्रह हुँदैछ ।’

उनले अहिले लोकतन्त्र, शान्ति र संविधान जोगाउन यो पनि गठबन्धनलाई विजयी बनाउनुपर्ने आवश्यकता रहेको बताए । पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले गोरखा जिल्लाबाट राजनीतिक दलहरुबीचको एकता सुदृढ छ भनेर सावित गर्नुपर्नेमा पनि जोड दिए ।

‘दलहरुको बीचमा कटुता होइन,सहमति, सहकार्य र एकता अगाडी बढ्दैछ । हिजो गिरिजाप्रसाद कोइरालाले पटक पटक सहमति, सहकार्य र एकता यही शव्द भन्ने गर्नुहुन्थ्यो । मैले पनि यही कुरा भन्ने गरेको छु, त्यो गठबन्धन लोकतन्त्र, विकास र सम्बृद्धिको लागि त्यो आवश्यकता हो’, प्रचण्डको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार