एमालेले मात्रै ल्यायो प्रदेश घोषणापत्र

धनगढी- संघीयतापछि प्रदेश स्थापना भए पनि राजनीतिक दलले प्रदेशलाई भने खासै महत्त्व दिएका छैनन् । राजनीतिक दलले प्रदेशमा आफ्नो उम्मेदवार तोकेर प्रदेश सरकार बनाउने परिकल्पना गरे पनि प्रदेश सरकारले के गर्ने, कसरी काम गर्छ, प्रदेशका तत्कालीन र दीर्घकालीन योजना के हुने भन्ने बारेमा भने नेकपा एमालेबाहेक अन्य दलले प्रदेश घोषणा पत्र ल्याएका छैनन् ।

एमालेबाहेकका दलहरूले प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरेर जारी गरेका केन्द्रीय चुनावी घोषणापत्रलाई नै प्रदेश घोषणा पत्रका रूपमा लग्न थालेका छन् । २०७४ सालको निर्वाचनमा पनि प्रदेश सभा सदस्यका उम्मेदवारहरू राजनीतिक दलको केन्द्रीय घोषणापत्रबाटै चुनावी प्रतिस्पर्धामा रहेका थिए ।

विभिन्न राजनीतिक दलहरूको प्रदेश संरचना भए पनि आफ्ना पार्टीका उम्मेदवारका लागि प्रदेश समितिहरूले एकीकृत चुनावी एजेण्डा बनाउनप्रति ध्यान दिन सकेको छैन । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका महामन्त्री नरनारायण शाह ९मनु०ले अहिले पार्टीको प्रदेश समितिले निर्वाचनलाई लक्षित गरेर चुनावी घोषणापत्र बारे कुनै तयारी नरहेको बताए । उनले भने, ‘घोषणापत्र तयार गर्दा नौ वटै जिल्ला समितिबाट राय सुझाव, विकासका एजेण्डाहरू संकलन गर्नुपर्छ । यसका लागि समय पनि छैन । त्यसैमा सत्ता गठबन्धन भएकाले गठबन्धन दलले संयुक्त रूपमा घोषणा पत्र तयारी गर्नुपर्ने हुन्थ्यो ।’ उनले कुनै पनि पार्टीले प्रदेश चुनावी घोषणापत्रबारे तयारी नगरेको बताए ।

नेकपा माओवादीका नेता वीरमान चौधरीले पार्टीले प्रदेशको घोषणापत्र तयार नगरेको भए पनि उम्मेदवारले एकलरुपमा आफ्नो प्रतिवद्धता पत्र (घोषणापत्र) लिई मतदातामाझ गइरहेको बताए । ‘केन्द्रले समग्र रूपमा घोषणापत्र जारी गरिसकेको छ,’ उनले भने, ‘प्रदेश समितिको आफ्नै घोषणा पत्र बनाउने तयारी भने गरिएको छैन ।’

एमालेले जारी गर्‍यो प्रदेशको २७ बुँदे संकल्प

नेकपा एमालेले समृद्ध सुदूरपश्चिम निर्माणका लागि पाँच वर्षको सङ्कल्प घोषणा गरेको छ । प्रदेशका प्राथमिकताका विषयलाई २७ क्षेत्रमा वर्गीकरण गर्दै एमालेले विकासको संकल्प गरेको छ । संकल्प पत्रमा प्रदेशभित्रका योजनाहरू भागबन्डामा हैन, प्राथमिकताका आधारमा योजना छनौट गर्ने र ती अवलम्बन गरिने घोषणा गरेको छ ।

‘समृद्ध सुदूरपश्चिमको आधार तयार गर्न २० वर्षीय प्रादेशिक रोडम्याप निर्माण गरिनेछ ।’ मंगलबार पाँच वर्षे संकल्प पत्र सार्वजनिक गर्दै नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठकले भने भने, ‘उक्त रोडम्यापअन्तर्गत दीर्घकालीन, मध्यकालीन तथा तत्कालीन गर्नुपर्ने कामका क्षेत्रहरू पहिचान गरी योजनाहरू निर्माण गरिनेछ ।’

संघीय तथा स्थानीय सरकारसँगको सहकार्यमा प्रदेश भित्र आधारभूत शिक्षा निःशुल्क र अनिवार्य, माध्यमिक शिक्षा निःशुल्क र उच्च शिक्षा सर्वसुलभ बनाइने संकल्प एमालेले गरेको छ । प्रादेशिक पोलिटेक्निक इन्स्टिच्युट स्थापना र सञ्चालन गरिने र प्रदेशका पचास हजार युवालाई बजारको मागअनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक सीप तालिम प्रदान गरी आय तथा रोजगारीसँग जोडिने एमालेको संकल्प रहेको सचिव पाठकले बताए ।

गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरिने संकल्प पत्रमा उल्लेख छ । प्रदेशका नागरिकलाई स्वस्थ बनाउन सेती प्रादेशिक अस्पताल र महाकाली अस्पताललाई विशिष्टीकृत अस्पतालको रूपमा विकास गरिने, गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयको रूपमा स्थापना र सञ्चालनमा ल्याउन संघीय सरकारसँग पहल गर्ने र गेटा मेडिकल कलेजभित्र अलग विभाग निर्माण गरी सिक्लसेल एनिमिया रोगको अनुसन्धान र निःशुल्क उपचारको व्यवस्था मिलाइने संकल्प एमालेले गरेको छ ।

जिल्ला अस्पतालहरू र टीकापुर अस्पताललाई सुविधा सम्पन्न बनाउने र अछामको बयलपाटा अस्पताल सञ्चालनको सम्पूर्ण जिम्मा प्रदेश सरकारले लिने, सामुदायिक संस्थाको सहकार्यमा सञ्चालन गर्ने तथा बयलपाटा मोडललाई प्रवर्द्धन गरेर प्रदेशमा विस्तार गर्ने एमालेको संकल्प रहेको पाठकले बताए ।

एमालेले पाँच वर्षभित्र सबै परिवारमा सफा र स्वच्छ पिउने पानी उपलब्ध गराउने र प्रदेशका सबै परिवारलाई मासिक दश हजार लिटर पानी निःशुल्क दिने संकल्प समेत गरेको छ । संकल्प पत्रमा प्रदेशमा उन्नत र आधुनिक कृषिको प्रवर्द्धन गर्दै कृषिको वर्गीकरण गरिने र कृषि उत्पादनको अनुपातमा प्रोत्साहन अनुदान दिने व्यवस्था गरिने, तरकारी र फलफूल तथा फूल आयात न्यूनीकरण गर्न तरकारी, फलफूल, र पुष्प खेती व्यवसायमा अनुदान प्रदान गरिने उल्लेख छ ।

प्रदेश स्तरमा कृषि अनुसन्धान परिषद् स्थापना गरी बालीको अनुसन्धान, बीउ उत्पादन र कृषि क्षेत्रको विविधीकरणमा सहयोग पुर्‍याइने संकल्प पत्रमा उल्लेख छ । बाजुरा, दार्चुला, बैतडी लगायतका दुर्गम जिल्लामा उत्पादन हुने स्याउ, ओखर जस्ता फलफूलको बजार बिस्तारमा अनुदानको व्यवस्था गरिने एमालेले संकल्प गरेको छ ।

पर्यटक विकासलाई प्रदेश समृद्धिको आधार मान्दै एमालेले जारी गरेको संकल्प पत्रमा बाजुराको बडीमालिका, बझाङको सुर्मादेवी, बैतडीको निङलासैनी, दार्चुलाको उदयदेव, अछामको बैजनाथ, डोटीको शैलेश्वरी, डडेल्धुराको उग्रतारा, कैलालीको बेहडाबाबा, र कन्चनपुरको सिद्धनाथ मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने एमालेको संकल्प पत्रमा उल्लेख छ । प्रदेशका खप्तड, रामारोशन, शुक्लाफाटा तथा सैपाल जस्ता क्षेत्रलाई विशेष पर्यटकीय गन्तव्यको रूपमा विकास तथा प्रवर्द्धन गरिने संकल्प पत्रमा उल्लेख छ ।

प्रदेशको विकासका लागि मेक इन सुदूरपश्चिम अभियान सञ्चालन गरिने र देशभित्रै प्राप्त हुने कच्चा पदार्थमा आधारित उपभोग्य बस्तुहरूको उत्पादन गर्ने उद्योगहरू स्थापना गर्न स्टार्टअप फन्डको व्यवस्था गरिने, एक गाउँ एक उत्पादन, एक परिवार एक रोजगार भन्ने नाराका साथ रोजगारीका अवसर सिर्जना गरिने संकल्प पत्रमा उल्लेख छ ।

सहज आवागमनको आधार तयार पार्न दिगो यातायातको पूर्वाधारलाई मानिएको संकल्पमा सबै पालिकाका केन्द्र जोड्ने पक्की सडक बनाइने, प्रदेशमा सञ्चालित बस सेवाको न्यूनतम मापदण्ड तोकी बस रोक्ने र ओराल्ने निश्चित ठाउँ तोक्ने संकल्प एमालेले गरेको छ ।

मुक्त हुन बाकी हलियाहरुको लगत लिई मुक्त घोषणा गर्ने र मुक्त हलिया, मुक्त कमैयाहरु, अति विपन्न दलित, एकल महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई आवासविहीन हुन नदिन आवास सुविधा उपलब्ध गराइने, मुक्त कमैया, दलित, निम्न आय भएका बस्तीमा एकीकृत बस्ती विकास अवधारणा लागू गर्ने एमालेले संकल्प गरेको छ ।

प्रदेश भित्रका साना ठूला नदी नालाहरूमा विद्युत् उत्पादनको सम्भाव्यता अध्ययन गरी लगानीको लागि सहजीकरण गरिने, दुई वर्षमा विद्युतमा पहुँच हुने जनसंख्या शत प्रतिशत पुर्‍याइने एमालेले संकल्प पत्रमा उल्लेख गरेको छ । सबै परिवारलाई ग्राहस्थ उपभोगका निम्ति वर्षा याममा मासिक ५० युनिट र हिउँद याममा ३० युनिट विद्युत् निःशुल्क उपलब्ध गराइने संकल्प पत्रमा उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार