पार्टीभित्र विवाद चुलिँदै गएपछि बाबुराम भन्छन्, ‘हात मिलाएर आ–आफ्नो बाटो लागौँ

जनता समाजवादी पार्टी (जसपा) भित्र विवाद बढिरहेका बेला संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सहमति मै हात मिलाएर आ(आफ्नो बाटो लाग्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा आफ्नो विचार लेख्दै उनले भनेका छन् ‘हात मिलाएर आ–आफ्नो बाटो लागौं । हिडिरहे फेरि भेट हुनेछ ।’

अहिले जसपामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच विवाद चुलिएको छ । पार्टीभित्र प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिने कि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सहयोग गर्ने भन्नेमा विवाद छ । यही कारण जसपाका नेताहरु एकले अर्कालाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ठाकुरले यादवलाई २४ घण्टे स्पष्टीकरणको जवाफ नदिने बताइसकेका छन् भने यादवले पनि स्पष्टीकरण कुनै औचित्य नभएको बताएका छन् ।

उनीहरुले आफ्ना सदस्य तथा सांसदलाई आफ्नो पक्षमा पार्ने कोसिस गरिरहेका छन् । यस्तो बेला डा. भट्टराईले तानातान अन्त्य गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘मान्छे तानातान र किनबेचको तमासा नगरौं । भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिऊॅ ।’

अध्यक्ष महन्थ ठाकुर पक्षले प्रधानमन्त्रीमा ओलीलाई सहयोग गर्ने पक्षमा छ भने पूर्वसमाजवादी पार्टी बाबुराम भट्टराई-उपेन्द्र यादव भने ओलीले असंवैधानिक कदम चालेकोले विकल्प खोज्नुपर्ने र देउवालाई सहयोग गर्नुपर्नेमा छन् ।

विवाद बढ्दै गएपछि अध्यक्ष ठाकुरले अर्का अध्यक्ष यादवलाई र अध्यक्ष यादवले अर्का अध्यक्ष ठाकुर पक्षलाई पार्टीबाटै निस्कासनसम्मको कारवाहीको चेतावनी दिएका बेला भट्टराईले आ-आफ्नो बाटो लाग्नुपर्ने बताएका हुन् ।

उनले अहिले नयाँ ध्रुवीकरण गर्नुपर्ने बेला आएको पनि बताएका छन् । ‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो,’ उनले भनेका छन्, ‘नयॉ निर्माण निम्ति पुरानो भत्कनै पर्छ। समयले नयॉ ध्रुवीकरण खोज्दै छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार