चुच्चे नक्सा हामी सबैले पास गरेका हौँ, ओलीले मात्र जस लिन खोजे : प्रधानमन्त्री देउवा

'गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता भएको दाबी'

काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतद्वारा अतिक्रमित भूमि समेटिएको नक्सा एमालेका अध्यक्ष केपी ओलीले मात्रै जारी नगरेको बताएका छन्।

दार्चुलामा लोकतान्त्रिक–वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ओलीले मात्रै जस लिन खोजेको आरोप लगाए।

‘लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्सा संसदबाट सबैले एउटै आवाज गरेर पास गरेको हो। दुई तिहाइले पास गर्नुपर्ने कुरा ओलीजीले मात्रै गर्न संभव छ र रुु देउवाले भने, ‘यसमा प्रचण्डजीको पनि सहयोग छ, नेपाली कांग्रेसलगायत सबै पार्टीको सहयोग छ। ओलीजीले सबै आफैंले गरेको भनेर हिँड्दैछन्।’ उनले एमाले अध्यक्ष ओलीले भ्रमण छर्दै हिँडेको आरोप लगाए।

‘ओलीजी दार्चुलामा आएर भाषण गर्दैमा केही हुनेवाला छैन’, उनले थपे, ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी कहाँ छ भन्ने कुरा सबैलाई थाहा छ नि ! यस विषयमा सम्पूर्ण नेपाल एक छ।’

उनले गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता भएको भन्दै लामो समय जाने बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार