बजेट केबल सुनाउनका लागि होइन, कार्यान्वयन गर्नका लागि ल्याइएको हो: अर्थमन्त्री पौडेल

संविधानले गरेको प्रबन्धअनुसार नै बजेट ल्याएको जिकिर

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्ने योजना, प्रतिवद्धता र संकल्पका साथ ल्याएको दावी गरेका छन् ।

आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले ल्याएको बजेटका सन्दर्भमा आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले बजेट कार्यान्वयन हुँदैन कि भनेर शंका नगर्न समेत आग्रह गरे । ‘बजेट केबल सुनाउनका लागि होइन कार्यान्वयन गर्नका लागि, बजेटमा उल्लेख गरिएका लक्ष्य हासिल गर्नका लागि ल्याइएको हो भन्ने म विश्वस्त दिलाउन चाहन्छु’, उनले भने, ‘कोभिड महामारीको नियन्त्रण रोकथाम र उपचारमा नै केन्द्रीत हुनुपथ्र्यो र त्यसै अनुरुप बजेट केन्द्रीत गरिएको छ । कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रस्तुत गरिएका योजना कार्यक्रम कार्यान्वयन गर्छौ ।’

उनले कोभिड महामारीको नियन्त्रण रोकथाम र उपचारमा नै केन्द्रित हुनुपर्ने भएकाले त्यसैअनुरुप बजेट केन्द्रित गरिएको जानकारी दिए । मन्त्री पौडेलले कोभिडविरुद्धको खोपका सम्बन्धमा असाधारण पहलकदमी लिएर खोपसेवा उपलब्ध गराउनेमा केन्द्रित भएर लाग्ने प्रतिबद्धता जनाए ।

मन्त्री पौडेलले वर्तमान सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार नभएकाले कामचलाउ बजेट ल्याउनुपर्ने टिप्पणी गर्ने गरेको भन्दै संविधानले गरेको प्रबन्धअनुसार नै बजेट ल्याएको धारणा राखेका छन् ।

उनले सरकारले चुनावका लागि आवश्यक बजेट विनियोजन गरेको र स्वतन्त्र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्न सम्पूर्ण सामथ्र्य परिचालन गरिने उल्लेख गरे ।

अर्थमन्त्री पौडेलले कोरोनाले असर पारेको अर्थतन्त्रलाई पुरानै लयमा फर्काएर अर्थतन्त्र चलायमान बनाउँदै समृद्धिको सपना साकार पार्ने योजना अनुरुप बजेट ल्याइएको धारणा राखेका छन् ।

यसअघि शनिबार सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार