ईराकसँगको मैत्रिपूर्ण खेलमा नेपाल ६–२ ले पराजित

इराकविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ६–२ ले पराजित भएको छ । बसरा रंगशालामा भएको खेलमा घरेलु टोली सुरूदेखि नै आक्रामक देखिएको थियो । खेलको सुरुवातमा नै ईराकले अग्रता लिए पनि नेपालले २–१ को अग्रता बनायो ।

तर त्यसलाई लामो समय जोगाउन सकेन । पहिलो हाफको अन्त्यसम्म ४–२ ले अघि रहेको ईराकले दोस्रो हाफमा थप दुई गोल गर्यो । कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपालको प्रशिक्षक बनेपछि यो पहिलो खेल हो ।

खेलको सातौं मिनेटमै अला अब्दुल जाहरा खासिनले फ्रिकिकमा गोल गर्दै इराकलाई अग्रता दिलाएका थिए । तर नवौं मिनेटमा नेपालले बराबरी गोल फर्कायो । नेपालका अन्जन विष्टको प्रहार बचाउने क्रममा इराकका अहमेद इब्राहिम खलाफले आत्मघाती गोल गरेका थिए ।

१४औं मिनेटमा नेपालले अग्रता लिने अवसर गुमाएको थियो । अन्जन विष्टले पेनाल्टी एरिया भित्र गोलकिपरसँग वान भर्सेस वानमा गोल गर्न सकेनन् । उनको प्रहार इराकी गोलकिपरले बचाए ।

२९औं मिनेटमा मनिस डाँगीले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाए । मनिसले यही खेलमार्फत राष्ट्रिय टिममा डेब्यु गरेका हुन् र उनले डेब्यु खेलमै गोल गरेका हुन् ।

३९औं मिनेटमा मोहम्मद अब्दुलजाहराले इराकका लागि बराबरी गोल फर्काए । लगत्तै अर्को मिनेटमा अयेन हुसेनले गोल गर्दै इराकलाई ३–१ को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी टाइममा अयमन हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकलाई ४–२ को अग्रता दिलाए ।

६८ औं मिनेटमा सुमन अर्यालको खराब ब्याक पासको फाइदा उठाउँदै इराक ५-२ ले अघि बढ्न सफल भयो । वैकल्पिक खेलाडी मोहमद अलि अलसम्मारीले उक्त पासलाई नियन्त्रणमा लिँदै वन भर्सेस वनमा गोल गरेका थिए ।

खेलको ७४ औं मिनेटमा सज्जाद जसिमले गोल गर्दै इराकलाई ६-२ को अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो । खेलमा नेपालका गोलकिपर कप्तान किरण चेम्जोङले केही राम्रा बचाउ समेत गरेका थिए ।

नेपाल अब जुन पहिलो साताबाट सुरु हुने विश्वकप छनोटका बाँकी खेल खेल्न नेपाल कुवेत प्रस्थान गर्नेछ । नेपालले विश्वकप छनोट अन्तर्गत तीन खेल खेल्न बाँकी छ । नेपालले जुन ३ मा चाइनिज ताइपेइ, जुन ७ मा जोर्डन तथा जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । नेपाल अहिले अंक तालिकामा ३ अंक जोड्दै चौथो स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार