निर्वाचन आयोगविरुद्ध सर्वोच्च जाने तोसिमाको तयारी

काठमाडौँ – ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने भएकी छन् । उनले शनिबार साँझ सामजिक सञ्जाल फेसबुक मार्फत आफ्नो उम्मेद्वारी खारेज गर्ने आयोगको निर्णयविरुद्ध अदालत जाने बताएकी हुन् ।

आयोगको शनिबार बसेको बैठकले डा कार्की बहाल रहेको नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद भएको ठहर गर्दै उनको उम्मेद्वारी खारेज गर्ने निर्णय गरेको थियो । कार्कीले आफू मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेको र यो लाभको पद नभएको दाबी गरेकी छन् ।

‘नीतिगत रूपमा स्पष्ट व्याख्या नगरी, कुनै पनि कानुनमा नटेकी मेरो उम्मेदवारी खारेज गरिएको छ। कुनै पनि ऐन–कानुनले राजीनामा नभएको पदबाट मैले राजीनामा नदिएको आरोप लगाएर उम्मेदवारी खारेज भएको अवस्थामा निष्पक्ष हुनुपर्ने निर्वाचन आयोगको गतिविधिमा नै मैले शंका गर्नुपर्ने बाध्यता सिर्जना भएको छ,’ कार्कीले बताइन्, ‘न्याय माग्न म सम्मानित सर्वोच्च अदालत जानेछु। भोलि बिहान रिट दर्ता गर्दै छु।’

आफूले पाटन अस्पतालको जागिरबाट राजीनामा दिइसकेको र नेपाल मेडिकल काउन्सिलको संलग्नतालाई कुनै पनि कानुनले लाभको पदका रूपमा व्याख्या नगरेको उनको दाबी छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार