फिलिपिन्समा आँधीहुरी : ४७ को मृत्यु, ६० जना बेपत्ता

भीषण वर्षापछिको बाढीपहिरोमा परी फिलिपिन्समा ४७ जनाको मृत्यु भएको छ । ६० जनाभन्दा बढी बेपत्ता भएका छन् ।

बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको आँधीहुरीसहितको मुसलधारे वर्षाले दक्षिणी फिलिपिन्सका तीनवटा सहर अधिक प्रभावित भएका छन् ।

मुस्लिम मिन्डानाओ (बीएआरएमएम)को बाङ्सामोरो स्वायत्त क्षेत्रका आन्तरिक एवं स्थानीय सरकारमन्त्री नागुइब सिनारिम्बोका अनुसार दातु ओडिन सिनसुआतमा ४२ जनाको मृत्यु भएको छ । पूर्वी प्रान्त क्यामेरिन्स सुरमा शनिबार बिहान आएको आँधी नाल्गामा परेर पाँचजनाले ज्यान गुमाएका छन् ।

बाढी प्रभावित क्षेत्रमा उद्धारका काम जारी रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जानकारी उनले दिएका छन् ।

कुसियोङमा ११ बालबालिकाको शव उद्धारकर्मीले माटोको ढिस्कोबाट निकालेको उनले बताए । कुसियोङका ६० जना हराइरहेका छन् ।

मागुइन्डानाओ प्रान्तीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयका प्रमुख नसरुल्लाह इमामले स्थानीय बासिन्दाको उद्धारका निम्ति सेना र प्रहरी तैनाथ गरिएको बताएका छन् । हालसम्म सात हजारभन्दा बढी बाढीपीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

फिलिपिन्समा यो वर्षको बाढीपहिरोमा परी २४० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार