निर्वाचन आयोगको निर्देशन अवज्ञा गर्ने गोविन्द केसीको चेतावनी

काठमाडौं । चिकित्सा शिक्षा सुधारको अभियानमा लागेका डा. गोविन्द केसीले ‘नो नट अगेन’ अभियानविरुद्ध निर्वाचन आयोगले जारी गरेको निर्देशनको अवज्ञा गर्ने चेतावनी दिएका छन् ।

उनले एक विज्ञप्ति जारी गरी आयोगलाई निर्देशन फिर्ता लिन आग्रह गर्दै त्यसो नभएमा आयोगको निर्देशनविरुद्ध अहिंसात्मक अवज्ञा अभियान सुरु गर्ने चेतावनी दिएका हुन् ।

‘आत्मालोचनासहित उक्त विज्ञप्ति तत्काल फिर्ता लिन हामी निर्वाचन आयोगलाई हार्दिक आग्रह गर्दछौं’, उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘अन्यथा, निर्वाचन आयोगबाट प्रकट भएको धम्कीयुक्त चेतावनीको वेवास्ता गरी आम नागरिकको नागरिक तथा राजनीतिक अधिकारको रक्षाको खातिर उक्त विज्ञप्तीको अहिंसात्मक रुपमा अवज्ञा हुने कुरा स्पष्ट गर्न चाहन्छौं ।’

आयोगका पदाधिकारीले आम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निर्भययुक्त बनाउने भन्दा पनि नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको भन्दै उनले आयोगको विज्ञप्तिमा प्रकट भएको भाष्य र मनसायले त्यही पुष्टि गरेको दावी गरेका छन् ।

‘नो नट अगेन’ अभियानलाई निषेध गर्नका लागि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई फौजदारी अभियोगमा सजाय गर्ने मनसाय आयोगबाट प्रकट भएको भन्दै उनले आयोगको निर्णयको आलोचना गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार