सरकारद्वारा लोकप्रिय कार्यक्रमसहित १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत 

यस्तो छ आगामी वर्षको बजेट (पूर्णपाठ)

लोकप्रिय कार्यक्रमसहित सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेको छ।

अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री कार्यालयमा आयोजित एक कार्यक्रमार्फत रु. १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत सार्वजनिक गरेका हुन्। यो अहिलेसम्मकै ठूलो आकारको बजेट हो।

आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा करीब ११.७ प्रतिशत ठूलो हो। चालु आर्थिक वर्षको बजेटको आकार रु. १४ खर्ब ७४ अर्ब छ। खर्च सामर्थ्य र राजस्व उठाउने क्षमताको तुलनामा बजेटको आकार ठूलो हो।

प्रतिनिधि सभा विघटन भएपछि सरकारले अध्यादेशमार्फत बजेट प्रस्तुत गरेको हो।

बजेटले आगामी आर्थिक वर्षमा ६.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ।

बजेट कार्यान्वयनका लागि आगामी आर्थिक वर्षमा १० खर्ब २४ अर्ब ९० करोड राजस्वबाट संकलन गर्ने अनुमान गरिएको छ भने रु. ६३ अर्ब ३७ करोड वैदेशिक अनुदान र रु.५ खर्ब ५९ अर्ब ३० करोड सार्वजनिक ऋणबाट संकलन गरिने लक्ष्य छ।

प्रतिनिधि सभा विघटन गरी चुनावको घोषणा गरेको सरकारले बजेटमार्फत मतदाता रिझाउने कैयौं लोकप्रिय कार्यक्रम सार्वजनिक गरेको छ। जसमध्ये प्रमुख रुपमा ज्येष्ठ नागरिक भत्ता रु. ४ हजार पुर्‍याइएको छ।

अन्य सबै खालका सामाजिक सुरक्षा भत्ता पनि ३३ प्रतिशतले बढाइएको छ। नेपालमा सामाजिक सुरक्षा भत्ता निर्वाचन जित्ने औजार मानिन्छ।

बजेटले सबै सरकारी कर्मचारीको तलब रु. २ हजारले बढाएको छ।

विद्यार्थीलाई ल्यापटप किन्न रु.८० हजारसम्म १ प्रतिशत दरमा सहुलियत ऋण दिने, पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार, शैक्षिक प्रमाणपत्र धितो राखेर रु.२५ लाखसम्म ऋण दिइने लगायतका लोकप्रिय कार्यक्रम बजेटमा छन्।

सरकारले स्थानीय पूर्वाधार साझेदारी तथा विकास कार्यक्रम (सांसद विकास कोष) खारेज गरेको छ।

बजेटले मुख्य रुपमा आगामी वर्ष कोरोनाभाइरस महामारी नियन्त्रण, रोकथाम र उपचारलाई पहिलो प्राथमिकतामा राखेको छ। कोभिड-१९ विरुद्धको खोप किन्नका लागि रु. २६ अर्ब ७५ करोड विनियोजन गरिएको छ।

हेर्नुहोस् बजेटको पूर्णपाठ

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार