सिद्दार्थ राजमार्ग अन्तर्गत बुटवल –पाल्पा सडकखण्डमा पहिरो

बिहानैदेखि यातायात अवरुद्ध

सिद्दार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । निरन्तर चार दिनदेखि परेको अविरल वर्षाले पाल्पा बुटवल सडकखण्डको ठाउँठाउँमा पहिरो खहसेर सडक अवरुद्ध भएको हो । तिनाउ गाउँपालिका ३ सिसुवामा ढुंगा सहितको ठुलो पहिरो गएको छ भने गौंडे, बर्तुङ, दोभान, झुम्सा लगायतको क्षेत्रका सानसाना पहिरो गएका छन् ।

यस्तै पाल्पा बुटवल सडक खण्डको सिसुवा क्षेत्रमा खसेको पहिरो हटाउने काम सुरु भएको छ । निरन्तरको वर्षा र ढुंगा झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका निमित्त प्रमुख अर्जुन सुवेदीले जानकारी दिए ।

सडक डिभिजन कार्यालय पाल्पाले थप स्काभेटर मगाएर पहिरो पन्छाउने काम सुरु भएको र केहि घण्टामा सडकको पहिरो हटाइने सडक डिभिजनका निमित्त प्रमुख सुवेदीले बताए । राजमार्गको तिनाउ गाउँपालिकाको अर्घाछाप, हेडवर्क्सलगायतका स्थानमा खसेको पहिरो भने पन्छाइएको छ । अर्घाछाप र हेडवर्क्समा यसअघि पनि खसेको स्थानमा पहिरो खसेको छ । राजमार्ग बन्द भएपछि बिहानैदेखि पहाडी भेगबाट बुटवलतर्फ र बुटवलबाट पहाड आउने सबै सवारी साधन अवरुद्ध भएका छन् ।

यस्तै गरि कालिगण्डकी करिडोरको भोओरमा पहिरो खस्दा तानसेन पिपलडाँडा रामपुर जोड्ने कालिगण्डकी करिडोर समेत अवरुद्ध भएको छ । निरन्तरको वर्षाले विभिन्न स्थानिय तहलाई जोड्ने ग्रामीण सडक अधिकांश अवरुद्ध भएका छन । हालसालै विस्तार भएका यी सडकमा सयौंको संख्यामा साना ठुला पहिरो झरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार