महङ्गो बन्दै तिहार : झिलिमिली बत्तीदेखि भाइमसलासम्मको मूल्य बढ्यो

'फूलमाला यसपटक आन्तरिक उत्पादनले धान्ने'

काठमाडौँ – यो वर्षको तिहार पनि महङ्गो हुने भएको छ । बजारमा दैनिक उपयोग्य वस्तूमो मूल्य दिनप्रति दिन बढ्दै गइरहेको छ ।
तिहार आउन एक साता मात्र बाँकी रहँदा बजारमा भाइमसलादेखि झिलिमिली बत्तीको माग बढ्न थालेको छ । तर, आयातमा लगाइएको प्रतिबन्धले पर्याप्त सामान नपाउँदा मूल्य बढेको व्यवसायीहरूले बताएका छन् ।

भाइमसला र विद्युतीय झिलिमिली बत्ती अधिकांश चीन र भारतबाट आयात हुन्छन् । तर, सरकारले लगाएको प्रतिबन्धले पर्याप्त तिहारलक्षित सामानहरू आयात नहँदा मूल्य बढ्न पुगेको राष्ट्रिय व्यवसायी संघका उपाध्यक्ष रामचन्द्र पराजुलीले बताए ।

यसपटक तिहारमा प्रयोग हुने भाइमसला, विद्युतीय झिलिमिलीमा व्यवसायीहरू उत्साही नभएको उनको अनुभव छ । व्यवसायीहरूका अनुसार असोज, कात्तिक र मंसिरमा अन्य समयको भन्दा ५० प्रतिशत बढी हुने गर्छ । तर, यो वर्ष दसैँदेखि नै व्यापार साबिकको भन्दा २० प्रतिशतसम्मले घटेको छ । उनका अनुसार आर्थिक मन्दीका कारण व्यवसायीहरू नै झन्डै २० प्रतिशतले घटेका छन्  ।

यसपटकको तिहारमा झिलिमिली बत्तीको आयात कम हुने भएपछि मूल्य बढेको छ । तिहार आउन एक साता बाँकी रहँदा झिलिमिली बत्तीको आयात गत वर्षको भन्दा ४० प्रतिशतले कम भएको विद्युत् व्यवसायी महासंघका अध्यक्ष सुदर्शन पौड्यालले बताए । तिहार भन्नेबित्तिकै झिलिमिलीको चाड भन्ने बुझिन्छ । माटाका पाला, विद्युतीय बत्ती, पटाका आदि तिहारका विशेषता हुन् ।

तिहारमा प्रयोग हुने फूलमाला यसपटक आन्तरिक उत्पादनले धान्ने भएको छ । खपत हुनेमध्ये ८५ प्रतिशत फूलमाला आन्तरिक उत्पादनले धान्ने फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए । उनले भने, ‘यसपटक आन्तरिक उत्पादन राम्रो छ, सातै प्रदेशमा समयमै तिहारलक्षित फूल उत्पादन भएको हुँदा आयात कम गर्ने भएका हौँ ।’

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार