आईएमई लाइफ इन्स्योरेन्सको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

 

आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा काठमाण्डौंको लैनचौर ब्यांक्वेटमा साधारण सभा सम्पन्न भएको हो ।

सो सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७७÷०७८ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तीय विवरणहरू पारित गरेको छ । जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब पुर्‍याउनुपर्ने प्रावधान बमोजिम पुँजी वृद्धिका लागि संस्थापक शेयर धनीबाट हाल कायम रहेको चुक्ता पुँजीको शत प्रतिशत बराबरको शेयर पुँजी थप गर्ने, शेयर पुँजी थप भए पश्चात् सर्वसाधारणका लागि छुट्टाइएको शेयर निष्कासन गर्ने लगायत कम्पनीको प्रबन्ध–पत्रको उद्देश्यमा कम्पनीले आवश्यकता अनुसार विभिन्न सहायक कम्पनीहरू स्थापना गर्ने उद्देश्य थप गर्ने र संशोधित प्रबन्ध पत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने सम्बन्धी प्रस्तावहरू उपर छलफल गरी सो प्रस्तावहरू सर्वसम्मतिबाट पारित भएको छ ।

सभाले आर्थिक वर्ष २०७७÷०७८ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा प्रभावितहरूको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोरोना रिलिफ एण्ड प्रिभेन्सन फन्डमा कम्पनीका तर्फबाट गरीएको योगदान ÷आर्थिक सहायताको अनुमोदन समेत गरिएको थियो ।

सभामा बोल्दै सभाका सभापति डा. अर्यालले बीमितको आवश्यकता अनुसारको विविध बीमा योजनाहरूको उपलब्धता, प्रतिस्पर्धात्मक बजार एवं नियमाकीय प्रयासहरूका कारण तथा वित्तीय साक्षरतामा वृद्धि गर्ने नेपाल सरकारको प्रयास लगायत विभिन्न बैङ्क, वित्तीय संस्थाहरू, बिमा कम्पनीहरू एवं अन्य सङ्घ संस्थाहरूको प्रयासका कारण बिमा बजारको भविष्य अझ राम्रो र सुनिश्चित हुँदै गएको बताए ।
साथै कम्पनीले सर्वसाधारणमा बीमाको पहुँच बढाउने लक्ष्य लिएर दुर्गम स्थानमा समेत सर्वसाधारणहरूलाई सुविधा पु¥याउने क्रममा सातै प्रदेशमा शाखा सञ्जाल विस्तार गरी हाल १४० शाखा तथा उपशाखाहरू मार्फत सेवा उपलब्ध गरिरहेको बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार