दुवै गठबन्धनलाई समर्थन नगर्ने बामदेवको घोषणा

काठमाडौं – नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष बामदेव गौतमले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा कुनै पनि पार्टीले समर्थन नगर्ने भएको छ । गौतमले आज विज्ञप्ति जारी गरी आफ्ना कार्यकर्ताहरुलाई निर्वाचनमा स्वविवेक प्रयोग गरेर मतदान गर्न आह्वान गरेका छन् ।

गौतमले दुवै गठवन्धन बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली र नेपालको संविधानको भावनाको विरुद्ध रहेको उल्लेख गरेका छन्। ‘यी दुई गठबन्धनका क्रियाकलापले नेपालको संविधानको अक्षर र भावनाको खिल्ली उडाएको स्पष्ट हुन्छ’ वक्तव्यमा लेखिएको छ, ‘यस्तो अवस्थामा हाम्रो पार्टीले कुनै पनि पार्टीलाई समर्थन गरेर मतदान गर्न सकिने अवस्था रहेन।’

गौतमले आफ्ना कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई मतदानमा स्वविवेक प्रयोग गर्न पनि आग्रह गरेका छन्। मतदान गर्नुपूर्व स्थानीय तहका जनतालाई गोलबन्द गरी सम्बन्धित जिल्ला र क्षेत्रको निर्माण र विकास सम्बन्धी समस्या समाधान गर्न सम्बन्धित उम्मेदवारलाई लिखित रूपमा प्रतिबद्ध गराउने कामको अगुवाइ गर्न उनले निर्देशन दिएका छन्।

उनले उम्मेदवारबाट व्यक्तिगत स्वार्थ पूरा गर्ने वा कुनै लेनदेनको कार्य नगर्न र भोजभतेरमा सहभागी नहुन पनि पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरेका छन्। गठबन्धनमा आबद्ध करिब १० पार्टीले मतदातालाई झुक्याउन आ–आफ्ना चुनावी घोषणापत्र जारी गर्नुको कुनै औचित्य नहुने भन्दै गौतमले गठबन्धनको साझा घोषणा पत्र पनि दिन नसकेको टिप्पणी गरेका छन्।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार