कात्तिकदेखि बैंक कर्जाको ब्याजदर बढ्ने

बैंक तथा वित्तीय संस्थाको कर्जाको ब्याजदर बढ्ने भएको छ । आउँदो कात्तिकदेखि बैंक तथा वित्तिय संस्थाले कर्जा (नयाँ पुराना दुवै) को ब्याजदर बढाउने भएका हुन्। गत साउनदेखि पुरानो ऋणको ब्याजदर नबढाएका बैंक तथा वित्तीय संस्थाले आधार दर(बेस रेट) मा भएको वृद्धिअनुसार कात्तिकदेखि लागू हुने गरी बढाउने भएका छन्  । गत असारको तुलनामा असोज मसान्तसम्म बैंकहरूको आधार दर औसत ०.६० प्रतिशत बिन्दुले बढ्ने देखिएको छ । सोही अनुपातमा कात्तिकदेखि लागू हुने गरी बैंकहरूले कर्जाको ब्याजदर बढाउने भएका हुन् ।

निक्षेपको ब्याजदर बढेसँगै बैंक तथा वित्तीय संस्थाले हरेक महिना नयाँ कर्जाको ब्याजदर भने बढाइरहेका छन् । तर पुराना ऋणको ब्याजदर बढेको छैन । आधार दरमा आएको परिवर्तनअनुसार बैंक तथा वित्तीय संस्थाले तीन–तीन महिनामा मात्र कर्जाको दर परिमार्जन गर्न पाउँछन् ।

राष्ट्र बैंकको सोही निर्देशनअनुसार गत असार मसान्तदेखि ९साउनदेखि लागू हुने गरी० बैंक तथा वित्तीय संस्थाले कर्जाको दर बढाएका थिए । त्यसयता पनि निक्षेपको ब्याजदर बढेको र केही साधारण बचत मुद्दती निक्षेपमा परिणत भएकाले बैंकहरूको ब्याज लागत बढेको छ । त्यसले आधार दर पनि बढाएको छ ।

ती सबै लागत समेटेर बैंक तथा वित्तीय संस्थाले असोज मसान्तमा तीन महिनाको औसत आधार दर गणना गर्नेछन् । यसरी अघिल्लो त्रैमासको तुलनामा असोज मसान्तमा आधार दरमा आएको परिवर्तन (वृद्धि÷कमी) अनुसार सबै प्रकारका कर्जाको ब्याजदर परिवर्तन हुने बैंकरहरूले जनाएका छन् ।

राष्ट्र बैंकको निर्देशनअनुसार हरेक त्रैमासमा आधार दरमा आएको परिवर्तन हेरेर कर्जाको ब्याजदर परिमार्जन गर्न पाइन्छ । गत असारमा वाणिज्य बैंकहरूको आधार दर औसत ९.४५ प्रतिशत थियो । यस्तो दर बढेर साउनमा औसत ९.७३ र भदौमा १०.०१ प्रतिशत पुगेको छ । गत साउन र भदौको आधार दरमा असोजको पनि समावेश गरेर तीन महिनाको औसत दर निकालिन्छ ।

गत असार मसान्तको तुलनामा असोजसम्म बैंकहरूको आधार दर औसत ०.६० प्रतिशत बिन्दुले बढ्ने देखिएको बैंकरहरूले जनाएका छन् । यसका आधारमा कम्तीमा ०.६० प्रतिशत बिन्दुले कर्जाको ब्याज बढ्ने उनीहरूको अनुमान छ । यो सबै वाणिज्य बैंकको औसत दर हो । तर बैंकपिच्छे बढ्ने दर भने ०.६० प्रतिशत बिन्दुभन्दा कम–बेसी हुन सक्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार