नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा बागमती पराजित

पोखरा – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रंगशालामा जारी महिला क्रिकेटमा विभागीय टोली एपीएफले बागमतीलाई ४ विकेटले पराजित गरेको छ।

मंगलबार भएको खेलमा पहिलो ब्याटिङ गरेको बागमतीले एपीएफलाई ९० रनको विजयी लक्ष्य दिएको थियो। उक्त लक्ष्य एपीएफले १९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो।

टस हारेर पहिलो ब्याटिङ गरेको बागमतीका लागि दुई खेलाडीले मात्र दोहोरो रनको स्कोर बनाएका थिए। उसका लागि सुमन खतिवडा र कप्तान कप्तान अस्मिना कर्माचार्यले १९ रन बनाएका थिए। उसका अन्य कुनै पनि ब्याटरले दोहोरो रनको स्कोर बनाउन सकेनन्। एपीएफका लागि रेखा रावल, नेरी थापा र इन्दु बर्माले समान १-१ विकेट लिएका थिए।

९० रनको सामान्य लक्ष्य पछ्याएको एपीएफले ५ बलअगाडि नै लक्ष्य पूरा गरेको थियो। उसका लागि रोमा थापाले २२ रन बनाउँदा ममता चौधरीले १७ रन बनाएकी थिइन्। त्यस्तै सीता राना मगरले १६ रन बनाउँदा नेरी थापा पनि १६ रनमा अविजित रहेकी थिइन्।

बागमतीका लागि सोनी पाख्रिन र सुमन खतिवडाले समान २-२ विकेट लिए पनि टोलीको हार टार्न भने सकेनन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार