प्रत्येक क्षेत्रको छुट्टाछुट्टै मतदाता नामावली छपाई गर्दै आयोग

काठमाडौँ – निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि फोटोसहितको मतदाता नामावली छपाईलाई तीव्रता दिएको छ ।

आयोगले केन्द्रीय कार्यालयबाट मुलुकभरका प्रत्येक जिल्लाका निर्वाचन क्षेत्रको छुट्टाछुट्टै मतदाता नामावली छपाई कार्यलाई तीव्रता दिएको हो । जसमा मतदान केन्द्र नै तोकिएर नामावली छपाई भइरहेको आयोगले जनाएको छ ।

उक्त फोटो सहितको नामावलीको प्रति निर्वाचन सामाग्रीसंगै प्रत्येक निर्वाचन क्षेत्रमा पठाउने आयोगको तयारी छ । आगामी निर्वाचनका लागि प्रतिनिधिसभा अन्तर्गत २ हजार २ सय ९१ पुरुष र २ सय ३५ महिला गरि २ हजार ५ सय २६ जनाको उम्मेद्वारी परेको छ भने प्रदेशसभातर्फ ३१७९ पुरुष, २ सय ९७ महिला र अन्य १ गरि ३ हजार ४ सय ७७ जनाको उम्मेद्वारी परेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

प्रत्यक्ष तर्फ संविधानको भावना र व्यवस्था अनुसार बढि भन्दा बढि समावेशी हुने गरि उम्मेद्वार मनोनयन गराउन आग्रह मात्र गरिएको उनले बताए ।आयोगले बुधबार १० देखि १ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिन समय दिएको छ ।

त्यसपछि बुधबार दिउँसो ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका छ । योसँगै प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि उम्मेदवारको अन्तिम संख्या टुङ्गो लाग्ने छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार