अल्पकालीन ऋणको ब्याजदर १० प्रतिशतमाथि

अल्पकालीन ऋणको ब्याजदर दोहोरो अंकमा उक्लिएको छ ।  नेपाल राष्ट्र बैंकले सोमबार नवीकरण गरेको २८ दिने ट्रेजरी बिल्सको ब्याजदर न्यूनतम ९.५४ र अधिकतम १०.९७ प्रतिशत कायम भएको छ ।

केन्द्रीय बैंकले जारी गरेको ९१ दिने, १८२ दिने र २६५ दिने ट्रेजरी बिल्सको ब्याजदर सबैको १० प्रतिशतभन्दा माथि रहेको छ। यसबाट के स्पष्ट हुन्छ भने बजारमा ब्याजदर निकै माथि उक्लिसकेको छ र अब बजार आफैं करेक्सन नभईकन ब्याजदर नियन्त्रण गर्न कठिन छ भन्ने बुझाउँछ ।

राष्ट्र बैंकले नवीकरण गरेको ट्रेजरी बिल्समध्ये ९१ दिने ट्रेजरी बिलको औसत ब्याजदर १०.१४ प्रतिशत कायम भएको छ भने १८२ दिनको १०.०६ प्रतिशत कायम भएको छ। त्यस्तै, ३६५ दिने ट्रेजरी बिल्सको ब्याजदर १०.०५ प्रतिशत कायम भएको छ ।

ब्याजदर बढी भएपछि राष्ट्र बैंक ३६५ दिने २ अर्ब ६० करोडको ट्रेजरी बिल्स आफैं किन्न बाध्य भएको छ ।  बैंक तथा वित्तीय संस्थाले भने जम्मा ४० करोड बराबरको ट्रेजरी बिल्समा मात्र लगानी गर्न पाएका छन् ।  उनीहरूले जम्मा १०.०५ प्रतिशतमा लगानी गरिरहेका छन् ।

राष्ट्र बैंकले गत सोमबार १८ अर्ब २४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल्स नवीकरण गर्न चाहेको थियो ।   त्यसमध्ये ५ अर्ब रुपैयाँको २८ दिने, ८ अर्बको ९१ दिने २ अर्ब २५ करोडको १८२ दिने र ३ अर्ब रुपैयाँ बराबरको एक वर्षे रहेको थियो ।

गत असोजदेखि बैंक तथा वित्तीय संस्थाले बचतको ब्याजदर १०.१३, रेमिट्यान्स मुद्दतीको १५.१३ र साधारण मुद्दतीको ब्याजदर १२.१३३ प्रतिशतसम्म पुर्‍याएकाले त्यसको असर अल्पकालीन ब्याजदरमा पनि परेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार