तीन दर्जनभन्दा बढी नातेदार चुनावी मैदानमा

'लोकतन्त्रका लागि अस्वाभाविक भएको विश्लेषण'

काठमाडौँ – विभिन्न दलबाट दम्पतीसहित तीन दर्जनभन्दा बढी नातेदार चुनावी मैदानमा उत्रिएका छन् । संघ र प्रदेश सभा निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नौ नेताका दम्पती नै उम्मेदवार छन् । भने अरू कतिपय नेताका परिवारका दुई–तीनजना सदस्यसम्म चुनावी प्रतिस्पर्धा छन् ।

देउवा सातौँपटक डडेल्धुरामा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ उम्मेदवार छन् । उनकी पत्नी डा आरजु राणा समानुपातिक खस–आर्य समूहबाट तेस्रो नम्बरमा उम्मेदवार छिन् ।

यस्तै गृहमन्त्री बालकृष्ण खाणका पनि दम्पती नै उम्मेदवार छन् । खाण रुपन्देही– ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार छन् भने पत्नी मञ्जु प्रतिनिधिसभाकै समानुपातिक सूचीमा छिन् । माओवादी उपमहासचिव वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्ती श्रीमान्/ श्रीमती हुन् । पुन रोल्पाबाट र घर्ती काठमाडौं– २ बाट उम्मेदवार छन् ।

एमालेबाट महासचिव शंकर पोखरेल दाङ– २ बाट प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्दै छन् । उनकी बहिनी मेनका पोखरेल प्रतिनिधिसभाकै समानुपातिक उम्मेदवार छिन् । एमाले केन्द्रीय सदस्य रहेकी उनको नाम खस–आर्य समूहको पहिलो नम्बरमा छ । लोसपा अध्यक्ष महन्थ ठाकुर महोत्तरी– ३ बाट प्रतिनिधिसभामा प्रत्यक्षका उम्मेदवार छन् । उनकी छोरी मीनाक्षी ठाकुर प्रतिनिधिसभाकै समानुपातिक उम्मेदवार छिन् ।

त्यस्तै, एमाले सचिव रघुवीर महासेठदम्पती धनुषाका दुई क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएका छन् । महासेठ धनुषा– ४ र उनकी पत्नी जुली महतो धनुषा– ३ बाट उम्मेदवार छिन् । एमाले केन्द्रीय सदस्यसमेत रहेकी जुली पूर्वमन्त्री पनि हुन् ।

माओवादी सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल र खेलकुदमन्त्री महेश्वर गहतराजका पनि दम्पती नै उम्मेदवार छन् । पौडेल बाग्लुङ– २ बाट प्रत्यक्षतर्फ उम्मेदवार छन् उनकी पत्नी बलावती शर्मा प्रतिनिधिसभाकै समानुपातिक सूचीमा छिन् ।

त्यस्तै, माओवादीका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट डडेल्धुराबाट प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् । उनकी पत्नी मञ्जु बम प्रदेशमै समानुपातिक सूचीमा छिन् । भट्टलाई पार्टीले भावी मुख्यमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेको चर्चा छ ।

जसपाका वरिष्ठ नेता अशोक राई सुनसरी– १ बाट प्रत्यक्षमा उम्मेदवार बनेका छन् । उनकी पत्नी सुशीला श्रेष्ठको प्रतिनिधिसभाकै समानुपातिकको बन्दसूचीमा नाम छ । जेलजीवन बिताइरहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले बर्दिया– २ बाट उम्मेदवारी दिएका छन् भने पत्नी रञ्जिता श्रेष्ठ कैलाली– १ बाट चुनावी मैदानमा उत्रिएकी छिन् ।

नेतृत्वले भूमिका र योगदानकै आधारमा एउटै परिवारबाट धेरैजना उम्मेदवार बनेको बताए पनि विश्लेषकहरूले भने यसलाई लोकतन्त्रका लागि ‘अस्वाभाविक’ मानेका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार