बैंकहरुले एकै दिनमा लिए ४६ अर्ब बढी स्थायी तरलता सुविधा

५ दिन अवधिका लागि एसएलएफ सुविधा

विभिन्न बैंक तथा वित्तीय संस्थाले आइतबार एकैदिन ४६ अर्ब रुपैयाँभन्दा बढीको स्थायी तरलता (एसएलएफ) सुविधा लिएका छन् । नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाले उक्त रकम अल्पकालीन सापटी लिएका हुन् ।

बैंक तथा वित्तीय संस्थाहरुले ४६ अर्ब ५५ करोड ५९ लाख रुपैयाँ अल्पकालीन कर्जा लिएका राष्ट्र बैंकले जनाएको छ ।बैंकहरुले दसैँअघि असोज १४ गतेसम्म कुल १९ खर्ब ७६ अर्ब ८० करोड ८५ लाख रुपैयाँ एसएलएफ सुविधा लिएको राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जानकारी दिएको छ। विभागका अनुसार १ हजार १५९ कारोबारबाट बैंकहरुले साउन १ देखि असोजसम्म १४ गते उक्त रकमबराबरको अल्पकालीन सापटी लिएका हुन्।

असोज १४ गते बैंकहरुले ७१ अर्ब ४ करोड ७० लाख रुपैयाँ एसएलएफ सुविधा लिएका थिए। बैंकहरुले नगद व्यवस्थापन गर्न नसकेपछि राष्ट्र बैंकमा सरकारी ऋणपत्र (ट्रेजरी बिल्स) धितोमा राखेर थोरै समयका लागि यस्तो कर्जा लिने गरेका छन् ।

अहिले राष्ट्र बैंकले बैंकहरुलाई ५ दिन अवधिका लागि एसएलएफ सुविधा दिने गरेको छ । बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानीको बढीमा ९० प्रतिशतसम्म एसएलएफ सुविधा लिन सक्ने व्यवस्था रहेको छ । यसको ब्याजदर ८.५ प्रतिशत रहेको छ ।

बढी ब्याज पर्ने भएकाले सामान्य अवस्थामा बैंकहरुले एसएलएफ सुविधा लिँदैनन् । तरलताको चरम अभाव भएपछि बैंकहरुको अन्तिम विकल्प एसएलएफ सुविधा हुने गरेको छ । अहिले अन्तर बैंक ब्याजदर ८.५० प्रतिशत पुगेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार