जाहेरीवालाको दुईवटा जन्मदर्ताबारे सन्दीपका कानुन व्यवसायीबीच मतभेद

बलात्कार आरोपमा न्यायिक हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछाने तर्फका कानुन व्यवसायीबिच मतभेद देखिएको छ । सोमबार म्याद थपका लागि प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएका सन्दीपले न्यायाधीशसमक्ष जाहेरीवाला १९ वर्षकी युवती रहेकी जानकारी गराएका थिए । त्यसक्रममा लामिछानेले जाहेरवालाकै आग्रहमा भेटेको र उनी नाबालिग नभएको दाबी गरेका छन् । त्यस लगत्तै अदालतमा परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले न्यायाधीशले घटनाबारे सोधेपछि सन्दीपले जाहेरीवालाले आफू १९ वर्षको रहेको बताएको जानकारी दिएका थिए ।

तर सन्दीपकै अर्की वकिल सुधा रिजालले भने जाहेरीवालाको दुईवटा जन्मदर्ता भेटिएको दाबी गरेकी थिइन। जाहेरवालाको दुई वटा जन्मदर्ता भेटिएको भन्दै उनले भनिन्, ‘अहिलेको जन्मदर्तामा म्याचुअर्ड छ उहाँ नाबालिग हुनुहुन्न । जो मान्छेहरूले फसाउन खोजेको छ, त्यसले उहाँलाई परिचालन गरेको आशङ्का छ ।’

तर, सन्दीपको कानुन व्यवसायी टोलीको नेतृत्व गरिरहेका सरोजकृष्ण घिमिरेले दुईवटा जन्मदर्ताका विषयमा आफूलाई कुनै जानकारी नरहेको बताएका छन्। उनले सुधाले आफूलाई थाहा नदिई बोलेको दाबी गरे । उनले जाहेरीवालाको दुईवटा जन्मदर्ता भएको कुराबारे आफूलाई केही थाहा नभएको र त्यस्तो कागजसमेत आफुससँग नआएको बताएका छन् ।

लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले आज अनुमति दिएको । २० गतेबाट ७ दिनका लागि म्याद थप भएको हो । लामिछानेलाई गत बिहीबार (असोज २० गते) प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि आरोपितलाई अदालतबाट थुनामा राख्ने अनुमति लिएपछि बयान प्रक्रिया अघि बढाउनुपर्नेमा दसैं बिदा परेकाले अदालत पनि बन्द भएकाले आज मात्र अदालतमा उपस्थित गराइएको हो ।

पक्राउ लगत्तै प्रहरीले उनको स्वास्थ्य परीक्षण गराइसकेको छ । सन्दीप विरुद्ध १७ वर्षीया किशोरीले भदौ २१ मा जबर्जस्ती करणीको कसुरमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन् । भदौ ५ मा सन्दीपले आफूलाई नगरकोटस्थित विभिन्न होटलमा घुमाएर फर्केपछि राति एयरपोर्टस्थित होटेल ‘काठमाडौं इन’मा लगेर पटक-पटक बलात्कार गरेको १७ वर्षीया नाबालिगको आरोप छ । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ । बलात्कार आरोपमा सन्दीपलाई पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार