एमालेबाट टिकट पाएका प्रभु साहले किन दिए स्वतन्त्र उम्मेदवारी ?

जसपासँग गठबन्धन गरेकाले एमाले अपवित्र भएको आरोप

४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा टिकट पाएका प्रभु साहले टिकट पाइसकेपछि आफ्नै दललाई ‘धोका’ दिएका छन् ।

एमालेबाट रौतहट निर्वाचन क्षेत्र नम्बर–३ को टिकट पाएका प्रभु साहले उम्मेदवारी भने सो पार्टीबाट नदिई स्वतन्त्रबाट दिए । जसपासँग गठबन्धन गरेकाले एमाले अपवित्र भएको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । उनले जसपामाथि विभिन्न आरोपसमेत लगाएका छन् ।

‘एमाले पार्टीले देशमा एकता, समृद्धि गर्ने सम्भावना बोकेको थियो भनेर लागेका थियौं । जसपाजस्तो भ्रष्ट, घोटाला नै घोटाला गर्ने, मधेसी र पहाडीबीच साम्प्रदायिकता फैलाउने शक्तिसँग अनैतिक सम्बन्ध बनाएपछि हामी असन्तुष्ट भएका थियौं । हामीले निरन्तर भनिरहेका थियौं कि यसले मधेस र देशमा पार्टीलाई घाटा हुन्छ,’ उनले भने, ‘कुर्सीको खेलका लागि देशमा अस्थिरता ल्याउनुहुन्न भन्दा पनि सुनुवाइ भएन ।

मधेसको अस्थिर, साम्प्रदायिक शक्तिसँग साँठगाँट गरेको एमालेको टिकटबाट लड्यो भने त त्यसको बचाउ गर्नुपर्छ । महान् पार्टी हो उपेन्द्रजीको भन्नुपर्छ । गठबन्धन बनाइसकेपछि एमाले स्वच्छ रहेन, अपवित्र रह्यो । त्यो अपवित्रतामा सँगै हिड्न सकिँदैन भनेर स्वतन्त्र उठेको हुँ ।’
साहले जसपासँग गठबन्धन गरेका ठाउँमा आफ्नो समूहबाट स्वतन्त्र उम्मेदवार बन्न लगाएको बताएका छन् । साह २०६३ सालमा माओवादीबाट अन्तरिम व्यवस्थापिका संसद्को सदस्य थिए । संविधानसभामा २०६४ र २०७० सालमा रौतहट–३ बाट निर्वाचित उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट रौतहट ३ बाट निर्वाचित भएका थिए ।

तत्कालीन नेकपा विभाजित भएपछि उनी प्रचण्ड मुक्त देश बनाउने भन्दै माओवादी पार्टी छोडेर एमाले तिर लागेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार