प्रशिक्षक जिदानले रियल मड्रिडबाट राजीनामा दिने

स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदान क्लबको मुख्य प्रशिक्षकको जिम्मेवारीबाट अलग्गिने भएका छन् । यो सिजन उपाधिविहीन बनेपछि प्रशिक्षक जिदानले क्लबको जिम्मेवारी छाड्ने भएका हुन् ।

स्पेनिस अखबार मार्कामा उल्लेख भएअनुसार उनले तत्काल लागू हुनेगरि क्लब छाड्न लागेका हुन् । जिदानले लिगको अन्तिम दिनपछि मात्र आफ्नो भविष्यबारे निर्णय लिने बताउँदै आएका थिए । लिग उपाधि नजिक पुगेर पनि बन्चित भएपछि जिदानले केहि दिनमा निर्णय सुनाउने जानकारी दिएका थिए । क्लबसँग सम्झौता समाप्त भइसकेको अवस्थामा नयाँ प्रक्रियाका लागि तयार नरहेपछि जिदानले क्लब नफर्कने निर्णय लिएका हुन् ।

रियल मड्रिडमा आफ्नो दोस्रो कार्यकालमा जिदानले ला लिगा र स्पेनिस सुपर कपको एक/एक उपाधि जिते । लगातार तीन सिजन युरोपियन च्याम्पियन्स लिग जिताएर उनी सन् २०१८ मा रियल म्याड्रिडबाट बिदा भएका थिए । त्यसअघि सहायक प्रशिक्षक रहेका उनलाई सन् २०१५ मा रियलले पूर्ण जिम्मेवारी दिएको थियो ।

सन् २०१८ मा रियलबाट प्रशिक्षक जिदानसँगै स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो पनि बिदा भएका थिए ।

रियल मड्रिडको नयाँ प्रशिक्षकमा एन्टोनियो कोन्टे, मेस्सिमिलियानो अलेग्री र राउल प्रत्यासी देखिएका छन् । इन्टर मिलानलाई यो सिजन घरेलु लिगको उपाधि जिताएका कोन्टेले हालै क्लब छाडेका हुन् । यसअघि पनि रियलले उनलाई भित्र्याउन प्रयास गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार