कांग्रेसले निर्दलीय चरित्र देखायो भन्नेहरुलाई देउवाको जवाफ: संविधान पढ्नुस्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्मानित सर्वोच्च अदालतले संविधान र संसदीय व्यवस्था बचाउने विश्वास व्यक्त गरेका छन् ।

बिहीबार नेपाल प्रेस युनियनको ३१ औं वर्ष प्रवेशको अवसरमा युनियनले गरेको अर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले मध्यरातमा संसद विघटन गर्नु असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतले संविधान र संसदीय व्यवस्था बचाउने विश्वास व्यक्त गरेका हुन् । सभापति देउवाले कांग्रेसले निर्दलीय चरित्र देखायो भन्नेहरुलाई जवाफ दिँदै संविधान पढ्न आग्रह गरे । उनले भने, ‘केहीले निर्दलीय अभ्यास भएको भन्नुभयो । उहाँहरुलाई नेपालको संविधान पढ्न भन्न चाहन्छु । संविधानको धारा ७६ को ५ मा कुनै पार्टी भनेको छैन । प्रतिनिधिसभा सदस्य भनेको छ ।’

सभापति देउवाले संसद विघटनविरुद्ध सडक आन्दोलनमा उत्रनुपर्ने मत भएपनि आफूले रोकेको बताए । कोभिड महामारीमा जनता जीवन ठूलो भएकाले आन्दोलन नगरिएको उनले बताएका छन् । फरक प्रसंगमा देउवाले पार्टीको महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न आफू तयार भएको पनि बताए ।

त्यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले देशमा एकसाथ तीन वटा लडाँं लडिरहेको बताए । देशलाई विकल्प चाहिएको भन्दै नेता पौडेलले चुनावमा जाने परिस्थिति कतै नदेखिएको धारणा राखेका छन् ।

कार्यक्रममा प्रवक्ता विश्वप्रकाश शर्माले जनताले कांग्रेसलाई विपक्षमा बस्न जनादेश दिएको भए पनि कम्युनिष्टहरुले सत्ता चलाउन नसकेपछि मात्र सरकारको दावी गर्नुपरेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार