दुबईमा ३४ करोड रुपैयाँको चिठ्ठा जितेपछि के भन्छन् भरत ?

काठमाडौं – नेपालका एक युवकले दुबईमा झण्डै ३४ करोड रुपैयाँ बराबरको चिठ्ठा जितेका छन् । केही वर्षदेखि दुबईमा कार धुने काम गरिरहेका ३१ वर्षीय भरत बीकेले त्यहाँको चर्चित मजुज चिठ्ठा जितेका हुन् । दश मिलियन अर्थात् एक करोड दिरामको उक्त चिठ्ठा जित्ने भरत पहिलो नेपाली रहको गल्फ न्यूजले जनाएको छ ।

मजुजले साप्ताहिक रुपमा खुलाउने यो चिठ्ठामा भरतले दुई वर्षदेखि चिठ्ठा काटिरहेका थिए । अन्ततः उनको भाग्य खुल्यो र अहिले उक्त चिठ्ठा जित्न सफल भए । यो चिठ्ठा जित्नुअघिसम्म दुबईमा बैंक खातासमेत थिएन ।

‘म त निकै खुसी छु’ उनले भने( शनिवार राति टिभीमा लाइभ हेरिरहेको थिएँ, मैले स्क्रिनमा आफ्नै चिठ्ठा नम्बर देखेँ, त्यसपछि खुसीले सुत्नै सकिनँ ।’

यो पैसाले भरत आफ्नो ऋण तिर्न र परिवारका लागि राम्रो बन्दोबस्तीको व्यवस्था गर्न चाहन्छन् । आफ्ना तीन र पाँच वर्षका दुई सन्तानका लागि यो रकम खर्च गर्ने उनको योजना छ । साथै उनले ब्रेन ट्युमरपछि प्यारालाइसिस भएका आफ्ना भाइको अपरेशनका लागि पनि केही पैसा खर्च गर्न चाहन्छन् ।

‘चिठ्ठा जिते पनि म कार धुने काम छाड्दिनँ’ भरतले भने । तीन वर्षअघि दुबई आएका भरत त्यसअघि वैदेशिक रोजगारीकै सिलसिलामा साउदी अरबमा थिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार