राष्ट्रपतिबाट दोस्रो पटक संविधान उल्लङ्घन भयो – रामवरण यादव

काठमाण्डौ – पूर्वराष्ट्रपति डा. रामवरण यादवले सङ्घीय संसदले पुनः पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लङ्घन गरेको आरोप लगाएका छन् । राष्ट्रपति संस्थाको मर्यादा, गरिमा र कर्तव्यलाई समेत बोध नगरि राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेर संविधानको उल्लङ्घन गरेको पूर्वराष्ट्रपति यादवको भनाइ थियो ।

बुधवार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रतिनिधि सभा विघटन गरेर पहिलो चोटि संविधान उल्लङ्घन गर्नुभएकी राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेर फेरि संविधान उल्लङ्घन गरेको भन्दै आपत्ति जनाए । दोस्रो पटक पनि सङ्घीय संसद्को दुवै सदनले पारित गरेर पठाएको विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण हुनबाट रोक्न मिल्ने अवस्था नै नरहेको उनले बताए ।

उनले भने, ‘आज गणतान्त्रिक कालमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट दुई चोटि सदन भङ्ग भयो । त्यसलाई हटाउन दलीय गठबन्धन, नागरिक समाज, बुद्धिजीवी, यही मिडिया र सम्पूर्ण नेपाली जनताको प्रयासले संविधान ट्याक ल्याउने काम भएको थियो । आज दुई वटै सदनबाट पास भएर विधेयक गएको थियो । त्यसलाई सम्माननीय राष्ट्रपतिजीले प्रमाणीकरण नगरि फेरि एकचोटि संविधान उल्लङ्घन गर्नुभएको छ ।’

पूर्वराष्ट्रपति यादवले बेलायत, भारत, अमेरिकालगायतका लोकतान्त्रिक देशहरूको परम्परा र संविधानविद् तथा कानुनविद्हरूसँग परामर्श गरेर नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति भण्डारीप्रति असन्तुष्टि व्यक्त गरे । राष्ट्रपतिले त्यो विधेयक प्रमाणीकरण नगरेर नेपालको लोकतन्त्रमै कालो बादल मडारिएको उल्लेख गर्दै संविधानलाई बचाउन नेपाली नागरिकलाई सजग भएर लाग्नुपर्ने उनको भनाइ थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार