संविधानको रक्षा र पालनामा सबैको इमान्दार प्रयास आवश्यक : राष्ट्रपति

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको निर्माण र विकासका लागि राजनीतिक दलले खेलेको नेतृत्वदायी भूमिकाको सराहना गर्दै यसको रक्षा र पालनाका लागि समेत दलकै इमान्दार प्रयासको आवश्यकता रहेको बताएकी छन्।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित स्वागत समारोहमा उनले संविधानले सुनिश्चित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न हाम्रा प्रयास निरन्तर जारी रहेको बताइन्। यसै क्रममा केही महिनाअघि मात्र स्थानीय तहको निर्वाचन सम्पन्न भएको र निकट भविष्यमा नै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुन लागेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले तीनै तहको निर्वाचनपश्चात् जनप्रतिनिधिहरूले मुलुकको बृहत्तर हितलाई प्राथमिकतामा राखी सामाजिक, आर्थिक, सांस्कृतिक एवं शैक्षिक विकासका लागि अझ सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।

‘नेपाली जनताको दशकौँ लामो सङ्घर्ष र बलिदानको फलस्वरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भई सात वर्ष पूरा भएको सुखद अवसरमा आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ’, उनले भनिन्, ‘आज नेपालमा मात्र नभई नेपालीहरू रहेका विश्वका विभिन्न मुलुकमा समेत संविधान दिवस भव्यताका साथ मनाइँदैछ। यस ऐतिहासिक अवसरमा म सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार