शक्तिको आडमा जबरालाई नजरबन्द गरेर गठबन्धनले तमासा देखायो : अध्यक्ष ओली

'बोरिस एल्सिनले रुसको संसदमाथि गोलाबारी गरेजस्तै प्रवृत्ति देखियो'

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको निवास प्रहरीले घेरेर तमासा देखाएको टिप्पणी गरेका छन् । सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले तीन महिनाभित्र टुंग्याउनुपर्ने प्रश्नमा सात महिना अनियन्त्रित गरेर अहिले निवास घेरेर तमासा देखाएको बताएका हुन् ।

उनले बोरिस एल्सिनले रुसको संसदमाथि गोलाबारी गरेजस्तै प्रवृत्ति चोलेन्द्रमाथि सरकारले देखाएको बताए ।

‘बोरिस एल्सिन प्रवृत्ति देखियो । यस्ता बोरिस एल्सिनसँग संसदका कुरा, लोकतन्त्रका कुरा, कानुनी राजका कुरा के गर्नु ? सर्वोच्चमाथि लगातार गोलाबारी भएको छ । यो गैरजिम्मेवारी हो । लोकतान्त्रिक मूल्यमान्यता अनुसार सरकार चल्नुपर्छ’, ओलीको भनाइ छ ।

उनले कुनै पनि प्रस्तावको कार्यकाल हुने भन्दै सेना–प्रहरी हातमा छ भनेर जे पनि गरे हुन्छ ? भन्दै प्रश्न गरे । ‘मान्छेको घर घेर्ने, नजरबन्द बनाउने, तमासा गर्ने हो ? लोकतन्त्रमा अभियोग पुष्टि नभएपछि प्रधानन्यायाधीशले के गर्ने ?’, ओलीको भनाइ छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार