प्रचण्डको टिप्पणीप्रति विश्व हिन्दु परिषद्को ध्यानाकर्षण

काठमाडौं । विश्व हिन्दु परिषद् नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा हिन्दु धर्मलाई आघात पुग्ने गरी गरेको टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बहुसंख्यक जनताहरूको धार्मिक आस्था एवं मनोभावना माथि ठाडो प्रहार गर्दै अभद्र टिप्पणी गर्नु अक्षम्य, निन्दनीय एवं दुर्भाग्यपूर्ण रहेको परिषद्ले भनाई छ ।

आइतबार एक विज्ञप्ती जारी गर्दै परिषद्ले भनेको छ, ‘उनले समाजमा ३३ कोटी देवतालाई पूजा गर्दै हिँड्ने तर मानिसलाई लात हान्दै हिँड्ने प्रचलन रहेको भनेर समग्र हिन्दु धर्म प्रति आस्थावान नेपाली जनमानसको भावनालाई उपहास गरेका छन् । हजारौं नेपालीको हत्या आरोपित माओवादी अध्यक्ष प्रचण्डले हरेक व्यक्तिमा बाहिर एउटा भित्र अर्कै कुरा हुने गरेको भन्दै सम्पूर्ण समाजको चरित्र माथि प्रश्नचिह्न लगाएका छन् । माओवादी अध्यक्ष प्रचण्डले हिन्दुत्व सुविचार “सन्तोषं परम् सुखं“ अर्थात मानिसलाई सन्तोष लिन सिकाउने कुराले समाज विकासमा अवरोध गरेको बताएर सन्तोषी हुनुपर्ने सामाजिक आधारलाई भत्काएर उत्तेजना फैलाई देशलाई फेरी द्वन्द्वतिर उन्मुख हुन दुरुत्साहित समेत गरेका छन् । हिन्दु धार्मिक आस्था अनुसार सृष्टिमा जीवनको उत्पत्तिबारे स्थापित दशावतारको मान्यतालाई खण्डित हुनेगरी बामपन्थी चिन्तक माक्र्सलाई जीवन विकासको अवधारणाबारे पहिलो दार्शनिक बताएर सनातन सांस्कृतिक आस्थालाई आघात पुर्याएको छ ।’

नेपालको साहित्यिक जगतका सुप्रसिद्ध नाटककार बालकृष्ण समबारे कटाक्ष गर्दै ‘ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ’ भन्ने कवितांशका कारण देश र विज्ञानको विकासमा अवरोध सिर्जना गरेको बताएर ऐतिहासिक भाषा–साहित्यबारे निकृष्ट टिप्पणी गरेको परिषद्ले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार