एमाले महोत्तरीमा गुटगत भेला, छानेर कार्यक्रममा बोलाएको आरोप

महोत्तरीमा नेकपा एमालेका तल्लो तहका कमिटीहरूले आगामी निर्वाचनमा सिफारिसमा परेका उम्मेदवारहरूलाई छनाछनी बोलाएर धमाधम कार्यक्रम आयाेजना गर्न थालेका छन् ।

टिकट जसले पाए पनि निर्वाचनको समयमा एकजुट हुनुपर्छ भन्ने सन्देश प्रवाह गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममै आफु निकट नेतालाई बाेलाइएकाे छ । शुक्रबार क्षेत्र नम्बर १ ‘क’अन्तर्गत बर्दिबास नगरपालिका–४ ले आयोजना गरेको कार्यक्रममा यस्ताे दृश्य देखिएको हाे ।

क्षेत्र नम्बर १ का उम्मेदवार र पार्टीको अवस्था बारे छलफल भनेर ब्यानरमा लेखिएको थियो । तर, सिफारिसमा परेका प्रदेशका एक उम्मेदवारबाहेक अरू देखिएनन् । जिल्लास्तरका नेताहरूको बाक्लै उपस्थिति रहेको उक्त कार्यक्रममा पाँच सयभन्दा बढी कार्यकर्ता थिए ।

निर्वाचनमा सबै एकजुट हुनुपर्छ भन्ने उदेश्य बोकेको आयोजक पक्षले दाबी गरे पनि प्रदेशमा सिफारिसमा परेका केदारबहादुर बस्नेतलाई मात्र बोलाउनुले कतिपयले गुटगत भेला भनेर समेत अर्थाएका छन् ।

प्रदेशमा सिफारिसमा परेका अन्य उम्मेदवारहरू सारदादेवी थापा र चन्द्रबहादुर क्यापछाकीलाई सम्पर्क गर्दा उनीहरूले कार्यक्रम बारे जानकारी नै नभएको बताए ।

जिल्लाका अन्य क्षेत्रको तुलनामा क्षेत्र नम्बर १ को क र ख मा नेकपा एमालेको बलियो पक्कड छ । सत्ता गठबन्धनको आन्तरिक खिचातानीले गठबन्धनबाट आउने साझा उम्मेदवारले पनि यहाँ जित्ने सम्भावना निक्कै कमजोर भएको स्थानीय नेताहरू बताउँछन् ।

यसैकारण पनि नेकपा एमाले क्षेत्र नम्बर १ का नेताहरू टिकट आफ्नो पक्षमा पार्न निक्कै जोडतोडले लागेका छन् । टिकटका लागि रघुवीर माहासेठको निवासमा धेरै नै नेताहरू आउने गरेको माहासेठको सचिवालयको भनाइ छ ।

प्रदेशसभामा को को परे सिफारिसमा ?
नेकपा एमाले क्षेत्र नं. १ ‘क’मा सिफारिस परेकाहरूमा सारदादेवी थापा, केदारबहादुर बस्नेत र चन्दबहादुर क्यापछाकी छन् ।सारदादेवी अघिल्लो पटक पनि निर्वाचित भएकी थिइन । पाँच बर्षसम्म आफूले गरेको कामको बिरासतले नै चुनाव जित्न सहज हुने उनको भनाइ छ ।

नेकपा एमालेभित्रैका एक पक्ष सारदादेवीलाई टिकट दिन नहुने पक्षमा छन् । स्थानीय तह निर्वाचनमा खुलेआम कांग्रेसबाट बागी उम्मेदवार बनेका प्रल्हाद क्षेत्रीलाई सहयोग गरेको उनलाई आरोप छ ।

आफ्नो उम्मेदवारलाई अन्तर्घात गरी पाटी इतरका व्यक्तिलाई जिताउन लागिपरेको हुनाले कतिपयले थापालाई कारबाहीको समेत माग गर्दै आएका छन् । तर, जनस्तरमा भने सारदादेवीको निक्कै राम्रो प्रभाव रहेको मानिन्छ । उनी पक्षधहरूले फरक व्यक्तिले टिकट पाए पार्टीले हार बेहोर्ने आकलन गर्दै आएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार