संसदको पाँच वर्षे कार्यकाल अत्यन्तै खराब रह्यो : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विकास र सुशासनको दृष्टिले संसदको पाँच वर्षे कार्यकाल राम्रो नभएको बताएका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले संसदको पाँच वर्षे कार्यकाल अघिल्लो निर्वाचनपछि अनुमान गरिए अनुरुप नभएको बताएका हुन्।

उनले केही नेताहरुको चरम व्यक्तिवाद र अहंकारका कारण मुलुक अन्योलको दिशातर्फ गएको बताए। अध्यक्ष नेपालले राष्ट्रको विकास र सुशासनको दृष्टिले संसदको पाँच वर्षको कार्यकाल राम्रो नभएको बताए।

उनले देशमा सुशासन हुन नसक्नु र विकासको काम अगाडी नबढ्नुले आफू चिन्तित रहेको पनि बताए। यथास्थितिमा देशलाई अगाडी बढाउन नसकिने भन्दै अध्यक्ष नेपालले विचार र कार्यशैलीमा रुपान्तरणको आवश्यकता रहेको बताए ।

‘राष्ट्रको विकासको हिसावले, सुशासनको हिसाबले यो पाँच वर्षको कार्यकाल अत्यन्तै पुअर, अत्यन्तै नराम्रो भन्न सकिन्छ। राज्य सञ्चालनको तरिकासँग म सहमत छैन। राज्यमा जुन ढंगले सुशासनको मान्यतालाई अवलम्वन गर्नुपर्ने कुरा हो त्यो हुन नसकेको कुराले म अत्यन्तै चिन्तित छु।’ उनले भने, दोस्रो, देशको विकासको सन्दर्भमा जुन दूरदृष्टि राखेर समग्र विकासको कामलाई अघि बढाउने कुरा हो त्यो पनि नभएको देख्दा म सन्तुष्ट छैन।’

अध्यक्ष नेपालले गठबन्धनको सिट बाँडफाँटमा ६० प्रतिशतभन्दा बढी सिटमा सहमति भइसकेको दाबी गरे। उनले ठूला पार्टीहरुले जम्मै सिट लिन खोज्दा समस्या खडा भएको टिप्पणी गरे।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार