नवौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेट तर्फको स्वर्ण पुलिसलाई

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा स्वर्ण पदक जितेको छ ।कीर्तिपुरस्थित टियु मैदानमा शुक्रबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिसले स्वर्ण जितेको हो ।

त्रिभुवन आर्मी क्लबले दिएको १ सय ४ रनको लक्ष्य पुलिसले ६ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्यो । उसका लागि कुशल भुर्तेलले १९ बलमा ३ चौका र ६ छक्काको मद्दतले ५१ रनको अर्धशतकीय ईनिङ खेले ।आर्मीका लागि जितेन्द्र मुखिया र सुसन भारीले समान १/१ विकेट लिए ।

त्यस अघि पहिला ब्याटिङ गरेको आर्मीले ८ ओभरमा ७ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो । वर्षाको कारण खेल ८ ओभरमा झारिएको थियो ।उसका लागि कप्तान विनोद भण्डारीले १४ बलमा ३ चौका र ४ छक्काको मद्दतले ४० रन बनाए । रोहित पौडेलले १० बलमा ४ छक्काको मद्दतमा २८ रन बनाए ।

पुलिसका लागि ललित राजवंशी तथा गुल्सन झाले समान २र२ तथा कप्तान दीपेन्द्र सिंह ऐरी र रशिद खानले समान १/१ विकेट लिए ।पुलिसले नवौंमा पहिलो स्वर्ण समेत जितेको छ । फाइनल गुमाएपछि आर्मीले भने रजत पदकमा चित्त बुझाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार